सरकारले संघीय तथा विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिट स्थापना गर्ने घोषणा कार्यान्वयन अघि बढाएको जनाएको छ। चालू आर्थिक वर्ष ०८३/८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलन उपचारका लागि आवश्यक पूर्वाधार विकास गर्ने घोषणा गरेका थिए।
बजेटमार्फत जलनको सघन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले समेत सातै प्रदेशका सरकारी अस्पतालमा सुविधासम्पन्न बर्न उपचार केन्द्र स्थापना गर्न निर्देशन दिएका थिए।
हाल उपत्यकाबाहिर जलनका बिरामीका लागि उपचार सेवा सहज छैन। सबै सरकारी अस्पतालमा छुट्टै जलन उपचार केन्द्र स्थापना भइसकेको अवस्था छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार सरकारले नीति तथा कार्यक्रम र बजेटमा घोषणा गरेका कार्यक्रम क्रमशः कार्यान्वयनमा ल्याइरहेको छ। उनका अनुसार देशभरका सरकारी संघीय अस्पतालमा जलन उपचारको व्यवस्था भइसकेको छ भने प्रादेशिक अस्पतालमा पनि सेवा विस्तारको काम भइरहेको छ।
‘सरकारले नीति तथा कार्यक्रम र बजेटमा घोषणा गरेको कार्यक्रम केही समयपछि लागू हुन्छ। हालसम्मको अवस्था हेर्दा देशभरका सबै सरकारी संघीय अस्पतालले जलन उपचारको व्यवस्था गरिसकेका छन्, प्रादेशिक अस्पतालमा पनि व्यवस्थापन गर्ने कार्य भइरहेको छ,’ उनले भने।
उनका अनुसार जलन उपचारका लागि आवश्यक जनशक्तिलाई तालिम दिने कामसमेत भइरहेको छ। जलनको उपचार जटिल र खर्चिलो हुने भएकाले उच्चस्तरीय सेवा विस्तारमा चुनौती रहेको उनले बताए।
‘जलनको उपचार नै कठिन छ, सबै प्रकारको जनशक्ति चाहिन्छ। उच्चस्तरीय सेवा प्रवाहका लागि खर्चिलो पनि छ। बिस्तारै सहज बनाउँदैछौँ,’ उनले भने।
सरकारले उपचार सेवा विस्तारसँगै जलनका घटना न्यूनीकरणतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ। सहप्रवक्ता अधिकारीले जलनका घटना रोकथामलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताए।