नेपाली कांग्रेसकी सांसद बासना थापाले राज्यको सेवा–सुविधा र आमनागरिकले पाउने राहतबिच ठुलो विभेद रहेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्। सांसद थापाले कर्णालीका जनताले समयमा औषधि, राहत र स्वास्थ्य सेवा पाउन नसकेको, तर मन्त्री बिरामी पर्दा उपचारका लागि लाखौँ रुपैयाँ खर्च गरेर काठमाडौं ल्याउने गरिएको भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाइन्। ‘जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्,’ थापाले भनिन्।
उनले काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्रीहरू कर्णाली पुग्दा पानी तथा खानपान नमिलेर बिरामी भए लाखौँ रुपैयाँ खर्च गरेर काठमाडौं ल्याउने राज्यले सामान्य नागरिकलाई राहत उपलब्ध गराउन भने कन्जुस्याइँ गरेको आरोप लगाइन्।
‘मन्त्रीलाई काठमाडौं ल्याउन ३०–३५ लाख रुपैयाँ खर्च गर्न सक्ने राज्यले तीन लाख रुपैयाँ खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन ?’ उनले प्रश्न गरिन्। बिहान–बेलुकाको छाक टार्नसमेत कठिन अवस्थामा रहेका नागरिकलाई एउटा सिलिन्डर ग्याससम्म उपलब्ध गराउन नसक्ने अवस्थालाई उनले ‘सुशासन’ भन्न नमिल्ने बताइन्। थापाले मन्त्रीको जीवनजत्तिकै कर्णालीका सर्वसाधारणको जीवन पनि मूल्यवान् रहेको उल्लेख गर्दै राज्यले नागरिकको जीवनरक्षालाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
‘एकातिर एक्सप्रेसको कुरा गर्ने, अर्कोतिर औषधिसमेत नपुग्ने ? के यही हो वास्तविक सुशासन ?’ थापाले प्रश्न गरिन्। केही दिनअघि कर्णाली पुगेका भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको स्वास्थ्यमा समस्या आएपछि उनलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं ल्याइएको थियो ।