- २०% भन्दा धेरै जलन भएकालाई अनिवार्य आइसियूमा राखेर ‘प्लास्टिक सर्जन’ले गर्नुपर्छ उपचार, तर देशभरमै आठवटाबाहेक अस्पतालमा प्राथमिक उपचारबारे तालिमप्राप्त नर्सलगायत जनशक्तिको मात्रै भर
आगलागीमा परेर, एसिड आक्रमण भएर वा आत्मदाह गरेर जे कारणले होस्, शरीरमा २० प्रतिशतभन्दा बढी जलन भए गम्भीर मानिन्छ । अझ बच्चामा त १० प्रतिशत जलनले नै गम्भीर गराउँछ । यो अवस्थामा जलनका विशिष्ट चिकित्सक प्लास्टिक सर्जनको उपस्थितिमा उपचार आवश्यक पर्छ । कतिपय संवेदनशील अंगमा भने १ प्रतिशत मात्रै जलन भए पनि सर्जरी गर्नुपर्ने हुन्छ । तर, नेपालमा न जलनको उपचार गर्ने अस्पताल पर्याप्त छन्, न त प्लास्टिक सर्जन नै छन् । जब कि जलनका घटना सहरदेखि दुर्गमसम्म जहाँ पनि हुन्छ र बिरामीको ज्यान जोगाउन जतिसक्दो छिटो प्रभावकारी उपचार चाहिन्छ ।
देशभर जलनको उपचार हुने १६ अस्पताल मात्रै छन् । तीमध्ये पनि ६ वटा काठमाडौं उपत्यकामै छन् । बाँकी १० अस्पताल पनि उपत्यकाबाहिर सहरी क्षेत्रमै छन् । अझ गम्भीर कुरा त सीमित अस्पताल हुँदा पनि सबैमा प्लास्टिक सर्जन उपलब्ध छैनन् । आठ अस्पतालमा मात्रै सीमित प्लास्टिक सर्जन र आइसियू बेड छन् । जुन कीर्तिपुर बर्न, वीर, त्रिवि शिक्षण, सुष्मा कोइराला मेमोरियल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल हुन् ।
जलनका आठ आइसियू बेड र २४ जनरल बेड भएको कीर्तिपुर बर्नमा १० प्लास्टिक सर्जन छन् । सबैभन्दा धेरै खासगरी गम्भीर अवस्थाका जलनका बिरामी कीर्तिपुरमै पुर्याउने गरिएको छ । त्यस्तै, पाँच आइसियू र १० जनरल बेड रहेको वीरमा चार प्लास्टिक सर्जन मात्रै छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा जलनका बिरामीका लागि दुईवटा मात्रै आइसियू बेड छ । जनरल बेड पनि ६ वटा मात्रै रहेको यो अस्पतालमा प्लास्टिक सर्जन केवल तीनजना छन् । त्यस्तै, एकजना मात्रै प्लास्टिक सर्जन रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालमा आठ आइसियू बेड र १५ जनरल बेड छन् भने एकजना नै प्लास्टिक सर्जन रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई आइसियू बेड र चार जनरल बेड छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई प्लास्टिक सर्जन, चार आइसियू र १० जनरल बेड छन् भने मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक प्लास्टिक सर्जन, एक आइसियू र चार जनरल बेड छन् । एकजना मात्रै प्लास्टिक सर्जन रहेको भरतपुर अस्पतालमा दुई आइसियू र आठ जनरल बेड छन् । बाँकी दुई प्लास्टिक सर्जन विराटनगर र नेपालगन्जका निजी अस्पतालमा छन् । त्यहाँ जलनको ट्रमा उपचारभन्दा पनि कस्मेटिक सर्जरी सेवामा उनीहरू सक्रिय छन् । यसरी देशभर जलनको उपचारका लागि ३२ आइसियू र ८१ जनरल बेड छन् भने प्लास्टिक सर्जन २५ जना मात्रै छन् । मेडिकल काउन्सिलमा त १३ प्लास्टिक सर्जनको नाम मात्रै दर्ता छ । किनभने विदेशमा अध्ययन गरेर आएकाहरूलाई काउन्सिलमा दर्ता हुन अनिवार्य छैन ।
जलनको उपचार हुने अन्य आठ अस्पताल कान्ति बाल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, नारायणी अस्पताल, डडेलधुरा अस्पताल, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने जलनको उपचार गराउने बेग्लै बेड र प्लास्टिक सर्जन छैनन् । यी अस्पतालमा कोही जलनका बिरामी आए पुनर्जलीय तथा प्राथमिक उपचार मात्र हुन्छ । पुनर्जलीय तथा प्राथमिक उपचारबारे तालिम लिएका नर्सलगायत जनशक्तिले उपचार गर्छन् । त्यसपछि बिरामीलाई विशिष्ट चिकित्सक भएकै अस्पतालमा रेफर गरिन्छ ।
‘जलनको उपचार छिटो गर्नुपर्ने हुन्छ । तर, देशभरि उपचार सहज नभएका कारण दुर्गमदेखि पनि काठमाडौं नै ल्याउनुपर्ने हुन्छ, जुन जटिल छ,’ कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जन डा. विशाल कार्की भन्छन्, ‘देशभरि नै उपचार सहज बनाउने हो भने धेरै बिरामीको ज्यान जोगाउन सकिन्थ्यो । अहिले कीर्तिपुर अस्पताललाई मात्रै भार परिरहेको छ । बचाउन सकिने कैयौँ बिरामीको उपचारमा ढिलाइ हुँदा ज्यान गएको छ ।’ उनका अनुसार नेपालमा सबैभन्दा बढी आगोबाट जलनमा परेका बिरामी हुन्छन् । त्यस्तै, तातो झोललगायत पदार्थ, एसिड, करेन्ट र चट्याङ लागेर पनि जलन हुन्छ । तर, उपचार काठमाडौंकेन्द्रित हुँदा समस्या परेको छ । उपत्यकाबाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा एक–एक मात्रै प्लास्टिक सर्जन छन् । आइसियू बेड पनि पोखरामा चार, भरतपुरमा दुई र मधेशमा एउटा मात्रै छन् । जब कि मधेशमा जलनका घटना धेरै हुने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी सातै प्रदेशमा सात प्रादेशिक अस्पतालमा जलनको उपचारका लागि वार्ड भए पनि व्यवस्थित नभएको बताउँछन् । ‘जलनको उपचार गर्ने केही अति राम्रा अस्पताल छन्, केही मध्यम किसिमका छन्, तर सबैतिर जलनको उपचार व्यवस्थित गराउन कठिन पनि हुन्छ । सात प्रदेशका सात अस्पतालमा जलन वार्ड छन्, तर सबैमा छुट्टै किसिमको जनशक्ति राखिएको छैन,’ उनले भने, ‘जलनका घटना कम नगरुजेन्लसम्म अस्पतालले मात्रै उपचार गरेर हुँदैन । जलन आफैँमा जोखिमपूर्ण विषय हो, तर सधैँ उपचार बलियो हुन्छ भन्ने छैन । जलनका घटना कम गर्नेतर्फ पनि ध्यान दिनुपर्छ ।’
तथ्यांकअनुसार कीर्तिपुर बर्न अस्पतालमा मात्रै वार्षिक जलनका औसत नौ सय बिरामीको शल्यक्रिया गरिन्छ । यसबाहेक ओपिडीमा आउने सामान्य जलनका चार हजारभन्दा बढी बिरामी हुन्छन् । उपत्यकाकै वीर, पाटन, टिचिङ र सुष्मा कोइरालामा जलनको जनशक्ति र स्रोतसाधन भए पनि कीर्तिपुरमै धेरै भिड हुन्छ । कीर्तिपुर बर्नपछि वीर र सुष्मा कोइरालामा जलनका बढी बिरामी आउँछन् । डा. कार्कीका अनुसार ४० प्रतिशत जलेका घाइतेमध्ये आधालाई बचाउन सम्भव हुन्छ भने ६० प्रतिशत वा सोभन्दा बढी जलन भएकालाई बचाउन निकै कठिन हुन्छ । हालसम्म कीर्तिपुरमा ६० प्रतिशत जलन भएका तीन घाइतेलाई मात्रै बचाउन सकिएको उनले बताए ।
कीर्तिपुर बर्न अस्पतालमा निर्देशक डा. किरण नकर्मी जलनको उपचार प्लास्टिक सर्जनको उपस्थितिमा जतिसक्दो छिटो हुनुपर्ने बताउँछन् । प्लास्टिक सर्जनसहित अन्य सर्जन, एमबिबिएस चिकित्सक र नर्सिक जनशक्ति चाहिन्छ । ‘जलनको उपचारमा प्लास्टिक सर्जनकै विशेष भूमिका हुन्छ । उनीहरूले जलनको उपचारबारे विशेष तालिम लिएका हुन्छन् । जनरल सर्जनलाई पनि एकमहिने तालिम दिनेबारे स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको छ,’ उनले भने, ‘यसबाहेक हामीले देशका विभिन्न अस्पतालमा कार्यरत तीन सयभन्दा बढी जनशक्तिलाई जलन उपचारको तालिम पनि दिइसकेका छौँ । खासगरी पुनर्जलीय तालिम महत्वपूर्ण हुने भएकाले सोही तालिम दिएका हौँ ।’
स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा वार्षिक औसत ५५ हजार मानिस कुनै न कुनै जलनको समस्यामा पर्छन् । तीमध्ये १० प्रतिशत अतिगम्भीर प्रकारका जलनका बिरामी हुन्छन् । ३० प्रतिशत मध्यम किसिमको जलनमा परेका हुन्छन् । बाँकी ६० प्रतिशत सामान्य जलनबाट प्रभावित भएका हुन्छन् । विभागका अनुसार ०७९ मा ७६ हजार २५५, ०८० मा ५५ हजार तीन सय, ०८१ मा ५१ हजार ३३८ र ०८२ मा ५६ हजार ४४३ जलनका घटना भएका थिए । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा वार्षिक ५६ हजार जलनका घटना हुने गरेको तथ्यांक निकालेको थियो । संठगनको नेपाल च्याप्टरको पछिल्लो तथ्यांकअनुसार नेपालमा जलनबाट बर्सेनि दुई हजार एक सयजनाको मृत्यु हुन्छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल नेपालमा जलनको उपचार र यसको जनशक्ति अभाव रहेको बताउँछन् । ‘हाल नेपालमा सबै सरकारी अस्पतालमा बर्नको उपचार सेवा छैन, यसको उपचार बढी केन्द्रीकृत छ,’ उनले भने, ‘मुख्य त सरकारी अस्पतालमा बर्न युनिटलाई व्यवस्थित गर्ने हो भने धेरै नै सहज हुन्छ । बर्नको उपचार सेवा प्रदेशमा पुर्याउन कठिन छ, बरु सरकारी अस्पतालमा पेडियाट्रिक बर्न र एडल्टको युनिट भयो भने सहज हुन्छ ।’
सरकारको घोषणा र प्रधानमन्त्रीको निर्देशन कहिले हुन्छ कार्यान्वयन ?
०८३/८४ को बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय तथा कुनै पनि विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिट स्थापना गर्ने घोषणा गरेका थिए । उनले जलनको सघन उपचारका लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्ने प्रतिबद्धता पनि जनाएका थिए । त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशका सरकारी अस्पतालमा सुविधासम्पन्न ‘बर्न’ (जलन) उपचार केन्द्र स्थापना गर्न निर्देशन दिएका थिए । हाल उपत्यकाबाहिर जलनको उपचार सेवा सहज छैन । सबै सरकारी अस्पतालहरूमा जलन उपचार केन्द्र स्थापना हुन सकेको छैन ।
‘सरकारले नीति तथा कार्यक्रम र बजेटमा घोषणा गरेको कार्यक्रम केही समयपछि लागू हुन्छ, हालसम्मको अवस्था हेर्दा देशभरका सबै सरकारी संघीय अस्पतालले जलन उपचारको व्यवस्था गरिसकेका छन्, प्रादेशिक अस्पतालमा पनि व्यवस्थापन गर्ने कार्य भइरहेको छ, बर्नको उपचारका लागि तालिम दिने कार्य पनि भइरहेको छ,’ सहप्रवक्ता अधिकारीले भने, ‘जलनको उपचार नै कठिन छ, सबै प्रकारको जनशक्ति चाहिन्छ । उच्चस्तरीय सेवा प्रवाहका लागि खर्चिलो पनि छ । बिस्तारै सहज बनाउँदैछौँ । जलनका घटना रोक्नतर्फ पनि ध्यान दिन आवश्यक छ ।’
कार्यविधि बन्यो, तर भएन सेवा विस्तार
सरकारले जलनको सघन उपचार सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधि, २०८१ जारी गरिसकेको छ । जसमा आठ संघीय अस्पतालमा आइसियू सेवासहितको सहज उपचार सेवा हुनुपर्ने उल्लेख छ । तर, कार्यान्वयन सीमित अस्पतालहरूमा मात्रै भएको छ । कार्यविधिमा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरगन्जको नारायणी अस्पताल, काठमाडौंको कीर्तिपुर बर्न र वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्जको भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा आइसियूसहितको उपचार सेवा प्रवाह गर्नुपर्ने उल्लेख छ । तर, वीर, कीर्तिपुर, पोखरामा मात्रै आइसियू उपचार कक्ष छन् ।
आइसियू तथा उपचारको पर्याप्त सुविधा नहुँदा बिरामीलाई उपत्यकाबाहिरबाट पनि उपचारका लागि काठमाडौं नै ल्याउनुपर्ने बाध्यता छ । यसले उपचार सुरु गर्नै ढिला हुँदा बिरामीको ज्यान जोगाउन नसकिएको घटनाहरूले देखाएको छ ।
जलन भएकालाई अस्पताल पुर्याउनुअघि के ध्यान दिने ?
जलनको प्राथमिक उपचार भनेको पोलेको ठाउँमा आधा घण्टासम्म बग्ने पानी लगाएर पखाल्नु हो नेपालमा जलनको घटना नै बढी छ । जलन भएपछि तत्काल उपचार पाउन असम्भव छ । यस्तो अवस्थामा जनचेतना बढाउनु उपयुक्त हुने कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन डा. किरण नकर्मी बताउँछन् । अधिकांशलाई प्राथमिक तथा पुनर्जलीय उपचारबारे थाहा नहुँदा अस्पतालसम्म पुर्याउँदा बिरामीलाई धेरै असर गरिसकेको हुने उनको अनुभव छ ।
‘उपत्यकाबाहिरका जिल्लाबाट बिरामीलाई काठमाडौं ल्याउँदासम्म समय लाग्छ । त्यसैले प्राथमिक तथा पुनर्जलीय उपचार अत्यावश्यक हुन्छ । तर, यी सामान्य उपचार पनि नहुँदा जलनको घाउ गहिरो बन्छ, जसले अंगभंगको अवस्था निम्त्याउँछ,’ उनले भने, ‘जलनको प्राथमिक उपचार भनेको पोलेको ठाउँमा आधा घण्टासम्म बग्ने पानी लगाएर पखाल्नु हो । यसले जलनमा गहिरो घाउ हुनबाट जोगाउँछ । यसो गर्दा विनाशल्यक्रियासमेत उपचार सम्भव हुन सक्छ । त्यसैले पुनर्जलीय उपचार अनिवार्य दिनुपर्छ । पुनर्जलीय उपचार नपाएर बाटोमै मृत्यु भएका कैयौँ घटना छन् । कोही बिरामीमा भने प्राथमिक उपचार प्रभावकारी नहुन पनि सक्छ ।’