पर्यटकीय गतिविधिहरूको जानकारीसँगै कला, साहित्य, संगीत, संस्कृतिको संरक्षणलगायतका गतिविधि एकै स्थानबाट सञ्चालनसँगै विकास र प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा बहुउद्देश्यीय केन्द्र ‘पोखरा घर’ सञ्चालनमा आएको छ।
पोखरा महानगरपालिकाले वडा नम्बर ९ पृथ्वीचोकस्थित पोखरा बसपार्कभित्र निर्माण गरेको ‘पोखरा घर’बाट आन्तरिक एवं बाह्य पर्यटकहरूलाई पर्यटकीय गतिविधिहरूको जानकारी दिनेछ। बिहान ६ देखि साँझ ८ बजेसम्म सञ्चालन हुने केन्द्रमा अंग्रेजी, नेपाली र हिन्दी भाषामा सूचना सम्प्रेषण गर्ने एकीकृत सूचना केन्द्र, कोसेली घर, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, आर्ट ग्यालरी, टिकट काउन्टर, स्नान घर, शौचालय, घण्टाघरलगायत संरचना छन्।
भूमिगत पार्किङसहितको पाँचतले बहुउद्देश्यीय केन्द्र पोखरा घरको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन्। उद्घाटनपछि आचार्यले आफू निर्वाचित भएर आएसँगै सोचेको सपना पूरा भएको बताए। घरको छतमा आउँदो ६ महिनाभित्र यस क्षेत्रको भाषा, साहित्य र संस्कृतिको डबलीका लागि हलसमेत बन्ने उनले जानकारी दिए।
कार्यक्रममा घर निर्माणका लागि जग्गा हस्तान्तरण गर्ने जग्गादाताहरू स्व. हरिगोपाल रञ्जित र स्व. गोपालप्रसाद तझ्याका परिवारसँगै गण्डकी पेट्रोलपम्पलाई सम्मान गरिएको थियो।
१५ चैत ०८० मा निर्माण सुरु गरिएको घर पाँच करोड १२ लाख २६ हजार २४६ रुपैयाँ लागतमा निर्माण भएको पोखरा महानगरपालिकाका इन्जिनियर लक्ष्मी गौतमले जानकारी दिए। ३० वैशाख ०८३ मा सम्पन्न भएको घरको भुइँ तलामा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि कोसेली घर, पर्यटकीय जानकारीसँगै सूचना केन्द्र, सःशुल्क स्नानघर, शौचालय र टिकट काउन्टर रहेका छन्।
परम्परागत वास्तुकलासँग आधुनिक प्रविधि र सामग्रीको प्रयोग गरेर निर्माण गरिएको घरको पहिलो तलामा पुस्तकालय, दोस्रो तलामा आर्ट ग्यालरी, पोखरा प्रज्ञा प्रतिष्ठान, माथिल्लो तलामा दुईवटा घण्टाघर निर्माण गरिएका छन्। आधुनिक, सुरक्षित र अपांगतामैत्री तरिकाले निर्माण गरिएको घरको भूमिगत तलामा पार्किङ र लिफ्टसमेत जडान गरिएको छ।
यसअघि पोखराको महेन्द्रपुलमा ०४९ सालमा स्थापना भएको १२ हजारभन्दा बढी पुस्तकहरू रहेको पोखरा सार्वजनिक पुस्तकालय र कला तथा सिर्जनासँग सम्बन्धित गतिविधि सञ्चालन गर्ने गरी सञ्चालनमा आएको आर्ट ग्यालरी पनि यही घरमा सारिएको हो।