८ अगस्टमा बुबाको निधनपछि इन्टर मियामीको प्लेइनिङ ११ बाट प्रतिस्पर्धा गरेका लियोनल मेसीले शनिबार राति नासभिल एफसीविरुद्ध पेनाल्टी मिस गरेका छन् । खेलको २३औँ मिनेटमा मेसीले असफल पेनाल्टी प्रहार गरेका थिए । यसअघि १२ अगस्टमा उनले लियोनविरुद्ध दोस्रो हाफमा मात्र प्रतिस्पर्धा गरेका थिए । मियामीले उनलाई यसपटक सुरुवाती ११ खेलाडीमै समावेश गरेको थियो । तर, उनले प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन् ।
कप्तान मेसीको पेनाल्टी प्रहारलाई नासभिलका गोलरक्षक ब्रायन स्वाकले बचाए । गोललाइनबाट फर्किएको बललाई सर्जियो रेगुइलनले गोल गरे, तर मान्यता पाएन । मेसीले प्रहार गर्नुअघि नै रेगुइलन ‘पेनाल्टी क्षेत्र’भित्र छिरेका कारण रेफ्रीले सो गोललाई रद्द गरेका थिए । प्रतिस्पर्धामा नासभिलले मियामीलाई ४–१ ले हरायो । सो खेलमा हानी मुख्तारले दुई गोल गरेका थिए ।
खेलमा ‘इस्टर्न कन्फ्रेन्स’का शीर्ष दुई टोलीबिच प्रतिस्पर्धा भएको थियो । नासभिल एमएलएसको शीर्ष स्थानमा रह्यो । मियामीमा मेसीआबद्ध भएयता नासभिलले दोस्रो जित निकालेको हो ।