नेपाल ‘ए’ टोलीले टप एन्ड टी–२० सिरिज खेल्दै

अस्ट्रेलियामा नेपालले टी–२० सिरिजसँगै थप तीन टोलीविरुद्ध प्रतिस्पर्धा गर्ने

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

अनिलकुमार शाहको कप्तानीमा नेपाली ‘ए’ टोलीले अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज खेल्दै छ । अस्ट्रेलियाको डार्बिनमा आगामी २१ देखि ३० अगस्टसम्म टप एन्ड टी–२० सिरिज हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार नेपालले सिरिजसँगै अस्ट्रेलियाका थप तीनवटा घरेलु टोलीसँग पनि प्रतिस्पर्धा गर्नेछ । क्यानले सिरिजमा सहभागी हुने टोलीलाई आइतबार बिदाइ गरेको छ । नेपालको ‘ए’ टोली पहिलोपटक भारतबाहेक विदेश भ्रमणमा निस्किएको हो । 

यसअघि नेपालको ‘ए’ टोलीले भारतमै मात्र अभ्यास र मैत्रीपूर्ण खेल खेल्दै आएको थियो । गत वर्ष पनि नेपालले टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाएको थियो । त्यसवेला नेपालको सिनियर टोलीले नै भाग लिएको थियो । नेपालले गत संस्करणमा ६ खेल खेल्दा दुईमा जित निकालेको थियो । नेपाल चार खेलमा पराजित भयो ।

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितालाई मध्यनजर गरी सिनियर टोलीलाई नै सिरिजमा सहभागी गराइएको थियो । यसपटक भने क्यानले ‘ए’ टोलीलाई प्राथमितामा राखेको छ । नेपालको सिनियर टोली भने एसिसी प्रिमियर कपमा भाग लिन अहिले भारतमा अभ्यासरत छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको सिनियर पुरुष टोलीले भारतमा १० दिनको प्रशिक्षणपछि मलेसियामा एसिसी प्रिमियर कप खेल्नेछ । 

 कुशल पहिलोपटक ‘ए’ टोलीमा
लामो समयदेखि नेपालका एकदिवसीय र टी–२० आईमा ओपनिङ गर्दै आएका कुशल भुर्तेल पहिलोपटक ‘ए’ टोलीमा परेका छन् । नेदरल्यान्ड्समा भएको आइसिसी विश्वकप लिग २ मा खराब प्रदर्शन गरेपछि उनी ‘ए’ टोलीमा घटुवा भएका हुन् । करिअरमा पहिलोपटक सिनियर टोलीमा नपरेका भुर्तेलले शाहको कप्तानीमा टप एन्ड टी–२० सिरिज खेल्दै छन् ।

उनी मात्र नभएर सिनियर टोलीका आक्रामक ब्याट्सम्यान कुशल मल्ल, लोकेश बम तथा पवन सर्राफले पनि प्रतिस्पर्धा गर्नेछन् । सिरिजमा नेपालले २१ अगस्टमा एन्टी स्ट्राइक, २२ अगस्टमा बंगलादेश, २४ अगस्टमा होबार्ट हुरिकेन्स, २६ अगस्टमा एसिटी कमेन्ट्स, २७ अगस्टमा किंग्समेन र २९ अगस्टमा भिक्टोरियाविरुद्ध खेल्ने क्यानले जनाएको छ । टी–२० सिरिज सकिएपछि नेपाल ‘ए’ले न्युजिल्यान्ड ‘ए’, साउथ अस्ट्रेलिया र तास्मानियासँग एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्नेछ । 

टोली 
अनिलकुमार साह (कप्तान)
तृतराज दास, मयन यादव, कुशल भुर्तेल, 
पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, 
लोकेश बम, रसिद खान, नारायण जोशी, 
आकाश चन्द, साहब आलम, विपिन खत्री, 
युवराज खत्री, रिजन ढकाल

सुझावित समाचार