नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड, २०८२ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार २३औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्नेमा भलिबलकी मीना सुनार, फुटबलर पूजा राना, कराँते खेलाडी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल आर्टस्, एमएमएका रवीन्द्र ढाँट रहेका छन् ।
यसैबिच, मञ्च र विद्युतीय भुक्तानीका लागि खल्ती बाई आइएमईबिच भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ । सम्झौतापत्रमा खल्ती बाई आइएमईकी मेनेजर पूजा धामी र मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गरेका थिए । एनएसजेएफले पिपल्स च्वाइस अवार्डको मत खल्तीमार्फत गर्नेछ ।
धामीले यस वर्ष पनि जोडिन पाउँदा खुसी लागेको बताइन् । ‘खेलाडीको सम्मानमा मञ्चले गर्ने यो ग्रान्ड कार्यक्रम सरहानीय कार्य हो,’ उनले भनिन् । मञ्चका अध्यक्ष अधिकारीले आइएमई खल्तीले स्पोर्टस् अवार्डलाई थप उचाइमा पु¥याउने बताए ।
मञ्चका महासचिव अञ्जन
खड्काले यस सम्झौताले स्पोर्टस् अवार्डलाई थप उचाइमा लैजाने अभियानमा आइएमई खल्ती परिवारप्रति निरन्तर सहकार्यका लागि आभार व्यक्त गरे । एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले पिपल्स च्वाइस पल्सर स्पोर्टस्को मुटु रहेको बताए ।
भोटिङमा नयाँ शैली
पिपल्स च्वाइस विधाको भोटिङ प्रक्रियामा एनएसजेएफले यसपालि नयाँ शैली अपनाउने निर्णय गरेको छ । पछिल्ला वर्षमा आफ्नो मनपर्ने खेलाडीलाई भोट हाल्न समर्थकले जति पनि रुपैयाँ हाल्न पाइन्थ्यो । यसपटक एक समर्थकले एक दिनमा एक भोट मात्र हाल्न पाउनेछ । जसका लागि १० रुपैयाँ मात्र राख्न पाउने नियम बनाइएको छ । अब एक समर्थकले एक युजरबाट दिनमा एकपटक मात्र भोट हाल्न सक्नेछ ।
तर, भोट भने प्रत्येक दिन हाल्न पाइनेछ । ‘विगतमा समर्थकले चाहेजति रकमको भोट एकसाथ हाल्न पाइन्थ्यो । यसले गर्दा योग्य उम्मेदवारभन्दा पनि अन्यले मौका पाउने आलोचना बढ्यो,’ मञ्चका अध्यक्ष अधिकारीले भने, ‘हाम्रो उद्देश्य नाफा कमाउने नभई योग्य उम्मेदवार अगाडि आऊन् भन्ने हो । त्यसैले यो नयाँ तरिका अपनाइएको हो ।’
खेलाडी छानिने तरिका
आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट खल्ती बाई आइएमईमा प्राप्त मतका आधारमा चुनिनेछ । भोटिङ पार्टनर आइएमई खल्तीको मतभार ५० प्रतिशत हुनेछ । बाँकी ५० प्रतिशत मतभार सामाजिक सञ्जाल फेसबुक, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यहरूबाट प्राप्त मतको हुनेछ ।
फेसबुकबाट मत दिँदा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ । यो विधाका विजेताले पल्सर मोटरसाइकल जित्नेछ । गत वर्ष पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए ।
मनोनयनमा परेका खेलाडी उत्साहित
एसियाली खेलकुदको एकल काता र टिम कातामा छानिएकी कराँते खेलाडी सानुमाया थिङले पिपल्स च्वाइसको मनोनयनमा परेको खुसी व्यक्त गरिन् । ‘ म कराँते परिवार, प्रशिक्षक मन्डेकाजी श्रेष्ठ र अन्य सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘यसले मेरो खेल करिअरमा नयाँ ऊर्जा थपिएको महसुस गरेको छु ।’ भलिबलकी चर्चित युवा खेलाडी मीना सुनारले पनि पिपल्स च्वाइसमा छानिन पाउनुलाई गर्व लागेको बताइन् । उनी एसियाली
खेलकुदको बन्द प्रशिक्षणमा छिन् । मनोनयन सर्वाजनिक भएको कार्यक्रममा पूजा, रवीन्द्र र शेर विदेशमा रहेकाले उपस्थित थिएनन् ।