सिराहाको गोलबजार नगरपालिका– ७, कदिमाटोलमा रहेको सामुदयिक विद्यालयलाई वडा कार्यालयको बजेटबाट खरिद गरिएको विद्युतीय रिक्सा हस्तान्तरण गरिएको छ ।
विद्यालयपरिसरमा आइतबार आयोजित संक्षिप्त समारोहबिच वडाध्यक्ष हरिशरण ठाकुर, वडासचिव भरत पण्डितसहित अन्य जनप्रतिनिधि र स्थानीय अभिभावकको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक ज्वाला मोक्तानलाई रिक्साको साँचो हस्तान्तरण गरिएको हो । गत आर्थिक वर्ष ०८२/८३ को बजेटबाट विद्यार्थीलाई विद्यालय आउन–जान सहजताका लागि सप्लायर्समार्फत खरिद गरिएको रिक्सा दिइएको वडाध्यक्ष ठाकुरले बताए ।
‘विद्यालयमा अध्ययनरत बहुसंख्यक गरिब तथा दलित समुदायका विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म जान कठिनाइ भइरहेको थियो,’ उनले भने, ‘त्यही समस्या समाधानका लागि वडा कार्यालयले छुट्याएको पाँच लाख रुपैयाँ बजेटबाट सप्लायर्समार्फत रिक्सा खरिद गरी हस्तान्तरण गरिएको हो ।’
विद्यालयका प्रधानाध्यापक मोक्तानका अनुसार सेवा क्षेत्रअन्तर्गत पर्ने कदिमाटोल, चोहर्वा महतोटोल र धरमपुर मुसहर बस्तीका १०५ जना विद्यार्थी दैनिक विद्यालय पढ्न आउँछन् ।
भौगोलिक दूरीको हिसाबले धरमपुर मुसहर बस्तीका बालबालिकालाई ओहोरदाहोर गर्दा करिब चार किलोमिटर बाटो हिँड्नुपर्ने बाध्यता भएकाले विद्युतीय रिक्सा पाएपछि सहज हुने उनले बताए ।
‘साना बालबालिका पिठ्युँमा किताबको झोला बोकेर विद्यालय खुलेको दिन पैदल ओहोरदोहोर गर्दा शारीरिक रूपले थाक्नुका साथै ढिलो पनि हुन्थ्यो,’ उनले भने, ‘वडा कार्यालयले रिक्सा उपलब्ध गराएपछि विद्यार्थीलाई समयमै विद्यालय आउन सहज हुनुका साथै प्रभावकारी पठनपाठन गर्न सकिने वातावरण बनेको छ ।’