पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा युवाहरूको सहभागिता नारामा सीमित हुन नहुने बताएकी छिन्। मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमद्वारा नयाँ बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राजनीति चुनावकाे वेला मत माग्ने र दिने विषय मात्र नभएको प्रस्त पारिन्।
‘राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनुहुँदैन। राजनीति निर्वाचनका वेला मत माग्ने वा दिने विषय मात्र होइन। समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने र देशको विकास तथा परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया हो,’ उनले भनिन्।
आजको युवा पुस्ता सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण विगतका पुस्ताभन्दा धेरै सूचनासम्पन्न भएको उल्लेख गर्दै भण्डारीले सूचनालाई तथ्यसँग भने जोड्न सक्नुपर्ने बताइन्।
‘सूचना धेरै हुनु र सही ज्ञान हुनु एउटै कुरा होइन। त्यसैले सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्न सक्ने क्षमता आजका युवाका लागि अत्यन्त महत्त्वपूर्ण छ,’ उनले भनिन्।