कैलाली र कञ्चनपुरमा सर्पदंशका बिरामी बढेका छन् । बिरामीको संख्या बढिरहे पनि सर्पदंशको उपचारमा प्रयोग गरिने औषधि एन्टिस्नेक भेनम भने पर्याप्त मात्रामा छैन ।
सर्पदंशको उपचार हुने प्रमुख केन्द्र सेती प्रादेशिक अस्पतालमा गत वैशाखदेखि हालसम्म सर्पले टोकेका १३९ जना उपचारका लागि भर्ना भएका छन् । अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठका अनुसार त्यसमध्ये एक बालकसहित तीनजनाको मृत्यु भएको छ । असारसम्म १०९ जना भर्ना भएकामा अहिले त्यो संख्या बढेर १३९ पुगेको उनले बताए ।
बिरामी संख्या बढ्दै गए पनि सेतीमा पर्याप्त मात्रामा एन्टिस्नेक भेनम छैन । अहिले ६० भायल औषधि मात्र मौज्दात रहेको अस्पतालले जनाएको छ । बिरामीलाई फर्काउनुपर्ने अथवा भर्ना भएका बिरामीलाई औषधि दिन नसकिने स्थिति नरहे पनि मौज्दात पर्याप्त नरहेको सर्पदंशका बिरामीको उपचारमा संलग्न डा. अनिरुद्र थपलियाले बताए ।
एन्टिस्नेक भेनमको मौज्दात थोरै रहेकाले एकैपटक धेरै बिरामी आए समस्या हुने उनले बताए । ‘मौज्दात थोरै भएकाले कुनै पनि वेला अभाव हुन सक्छ,’ उनले भने, ‘एकैपटक धेरै बिरामी आए यो औषधिले पुग्दैन, समस्या हुन्छ ।’ डा. थपलियाका अनुसार सर्पदंशको एउटा बिरामीलाई १० देखि २०–२५ वटा भायलसम्म औषधि चाहिन्छ ।
कैलालीमा सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र मसुरियामा नेपाली सेनाअन्तर्गत सर्पदंश उपचार केन्द्र छन् । ती केन्द्रमा पनि एन्टिस्नेक भेनम पर्याप्त छैन । टीकापुर अस्पतालले ६० भायल औषधि मौज्दात रहेको जनाएको छ । बिरामीको चाप बढे यो औषधि पर्याप्त नहुने अस्पतालका सूचना अधिकारी पदमराज भट्टले बताए । यो अस्पतालमा गत वैशाखयता करिब सयजना सर्पदंशका बिरामी भर्ना भएका अस्पतालका हेल्थ असिस्टेन्ट आशिक चौधरीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पनि एन्टिस्नेक भेनमको आवश्यकताअनुसार मौज्दात छैन । केन्द्रका सूचना अधिकारी जयन्द्र बोगटीले केन्द्रको स्टोरमा अहिले ८० भायल औषधि मात्र मौज्दात रहेको बताए । तराईमा सर्पदंशका बिरामी बढी हुने भएकाले पहाडी जिल्लामा पठाएको औषधि मगाएर काम चलाइरहेको उनले बताए ।
आपूर्ति केन्द्रका अनुसार संघीय सरकारले आपूर्ति गर्दै आएको यो औषधि गत माघयता यहाँ आएको छैन । ‘मौज्दात थोरै छ, यहाँका पहाडी जिल्लामा सर्पदंशका बिरामी कम हुने भएकाले त्यहाँ पठाएको औषधि मगाएर पनि काम चलायौँ,’ बोगटीले भने । डा. थपलियाका अनुसार उपचारका लागि आउने सर्पदंशका बिरामीमध्ये धेरैजसो करेत, गोमन, भाइपर जातका विषालु सर्पले टोकेका हुन्छन् । लक्षण देखिएका बिरामीलाई आइसियूमा राखेर उपचार गर्ने गरिएको उनले बताए ।