काभ्रेपलाञ्चोक जिल्लामा जन्मेर भक्तपुरमा विवाह गरेकी चित्तकुमारी चित्रकार हाल ७२ वर्ष पुगिन्। उनले २१ वर्षको उमेरदेखि नै नागको चित्र बनाएर नागपञ्चमीका दिन बिक्री गर्दै आएकी छिन्। उनका श्रीमान् र छोराहरू पनि भक्तपुरमा हुने विभिन्न जात्राका देवी-देवताका मूर्ति तथा मास्कहरूमा रङ भर्ने काममा संलग्न छन्।
विगतका वर्षहरूको तुलनामा यो वर्ष नागको चित्र बनाउने काम केही कम गरेकाे चित्तकुमारी बताउँछिन्। पहिले-पहिले उनले बजारमा नियमित बिक्रीका लागि पनि चित्र पठाउने गरेकी थिइन् । तर, यसपालि भने अर्डर आएका कामहरू मात्र गरेकी छिन्। यस वर्ष उनले दुई आकारका नागका चित्र मात्र तयार पारेकी छिन् । जसअनुसार सानो फोटोको मूल्य ५० रुपैयाँ र ठुलो फोटोको मूल्य एक सय रुपैयाँ तोकिएको छ। यस वर्षको नागपञ्चमी भदौ १ गते परेको छ।











