एनसेलले वेब होस्टिङ र डोमेनलगायतका सेवा दिने

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण

एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ । यो स्थानीय रूपमा समर्थित प्लाटफर्म भएकाले यसले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो सेवा नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था र विभिन्न संठनका लागि लक्षित छ ।

क्लाउडसुइटको उपभोग गर्दै ग्राहकले एकीकृत प्लाटफर्म डोमेनमार्फत दर्ता गर्न, वेबसाइट होस्ट गर्न र आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्नेछन् । यस प्लाटफर्मले डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डिएनएस व्यवस्थापन, डोमेन फरवार्डिङ, सबडोमेन म्यानेजमेन्ट र केन्द्रीकृत डोमेन एडमिनिस्ट्रेसन सुविधा पनि समेट्ने कम्पनीले बताएको छ ।

साथै, यो प्लाटफर्मले व्यवसायको विभिन्न विकास चरणअनुसार व्यावसायिक वेब होस्टिङ विकल्पहरू प्रदान गर्नेछ । विदेशी मुद्रामा अन्तर्राष्ट्रिय होस्टिङ सेवा खरिद गर्नुपर्ने बाध्यता हटाउँदै एनसेलले उपलब्ध गराएको सेवामार्फत ग्राहकले अब नेपाली मुद्रामै भुक्तानी गर्न सक्नेछन् । एनसेलले यी सेवाका लागि दुईवटा प्याकेज उपलब्ध गराएको छ ।

मासिक एक हजार पर्ने बेसिक प्याकेजले व्यवसायलाई अनलाइन उपस्थिति स्थापना गर्न सहज र भरपर्दो समाधान उपलब्ध गराउनेछ । यसमा तीन जिबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप र सुरक्षा सुविधा समावेश छन् ।

त्यस्तै, मासिक दुई हजार पर्ने प्रो–प्याकेजमा बढी स्टोरेज र डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँचवटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप र सुरक्षा सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

एनसेल बिजनेस क्लाउडसुइट प्रयोग गर्दा नेपालभित्रै होस्टिङ हुने र डेटा पनि नेपालमै रहने दाबी गरिएको छ । यसको प्रयोगले ग्राहकलाई आफ्नो वेबसाइट डेटा र डिजिटल सम्पत्ति देशभित्रै राख्ने सुविधा उपलब्ध गराउनेछ । 

See More On

सुझावित समाचार