नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ)माथि मुद्दा दायर भए पनि दैनिक कार्यसम्पादन निर्बाध चल्ने बताएको छ ।
बैंकले एक विज्ञप्ति जारी गर्दै प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गरिआएको नियमित काम–कारबाहीस्वरूप मुद्दा दायर भएको बताएको हो ।
बैंकले नेतृत्व तथा व्यवस्थापन यथावत् रही संस्थाको सबलता, समग्र ग्राहकको हित र बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधि पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन रहने पनि जनाएको छ ।
साथै, बैंकले बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय गरिदिन पनि आग्रह गरेको छ । बैंकबारे आएका अपुष्ट सूचना तथा अनुमानभन्दा पनि आधिकारिक सूचनालाई मात्र आधार बनाउन ग्राहक तथा सरोकारवालालाई अनुरोध गरेको छ ।