उदयपुरको रौतामाई गाउँपालिका– ७, मुचुर्कीस्थित नमुना माध्यमिक विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गए पनि त्यसअनुसार शिक्षकको दरबन्दी नहुँदा पठनपाठन व्यवस्थापनमा चुनौती भएको छ ।
विद्यालयमा अहिले करिब एक हजार विद्यार्थी अध्ययनरत छन् । तर स्थायी, राहत र करार गरी ३५ जना शिक्षक–शिक्षिका मात्र कार्यरत छन् । विद्यार्थीको चापअनुसार शिक्षक अपुग भएपछि विद्यालयले थप ११ जना शिक्षक निजी स्रोतबाट राखेर अध्यापन सञ्चालन गरिरहेको छ ।
०१८ मा स्थापना हुँदा कक्षा पाँचसम्म मात्र पढाइ हुने विद्यालय अहिले कक्षा १२ सम्मको शिक्षा प्रदान गर्ने अवस्थामा पुगेको छ । समयक्रममा विद्यालयको शैक्षिक दायरा विस्तार हुँदै गएसँगै विद्यार्थीको संख्या पनि उल्लेख्य रूपमा बढेको विद्यालय प्रशासनको भनाइ छ । नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ, प्राविधिक शिक्षा तथा नमुना विद्यालय कार्यक्रम सञ्चालनमा आएपछि विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण थप बढेको छ । तर, विद्यार्थीको संख्या बढिरहँदा सरकारी दरबन्दीअनुसार शिक्षक संख्या भने पर्याप्त नहुँदा विद्यालयले निजी स्रोतमा निर्भर हुनुपरेको छ ।
विद्यालयका प्रधानाध्यापक खड्गबहादुर मगरका अनुसार विद्यालयमा स्थायी, राहत र करार गरी ३५ जना शिक्षक–शिक्षिका कार्यरत छन् । त्यसमध्ये माध्यमिक तहमा १३, निम्न माध्यमिक तहमा चार र प्राविधिक धारमा सातजना शिक्षक छन् । बाँकी शिक्षकहरू प्राथमिक तहलगायतका कक्षामा कार्यरत छन् । विद्यार्थीको संख्या र विद्यालयले सञ्चालन गरेका विषय तथा कार्यक्रमअनुसार शिक्षक आवश्यक भए पनि सरकारी दरबन्दी पर्याप्त नभएको प्रधानाध्यापक मगरले बताए ।
विद्यालयमा ०७६ देखि कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ विषयको प्राविधिक धारसमेत सञ्चालन हुँदै आएको छ । त्यसअघि नै विद्यालयमा कक्षा १२ सम्मको पढाइ सञ्चालन भइरहेको थियो । ०७७ देखि नमुना विद्यालय कार्यक्रम सुरु भएपछि विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा समेत थप ध्यान दिइएको विद्यालयले जनाएको छ । ‘विद्यार्थीको संख्याअनुसार शिक्षक दरबन्दी बढेको छैन,’ मगरले भने, ‘विद्यार्थीको आवश्यकता पूरा गर्न निजी स्रोतबाट समेत शिक्षक राख्नुपर्ने अवस्था छ ।’
विद्यालय व्यवस्थापन समितिका सदस्य होमबहादुर बस्नेतका अनुसार नमुना माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमको पढाइ सुरु भएपछि विद्यार्थीको आकर्षण बढेको हो । स्थानीय अभिभावकले निजी विद्यालयमा महँगो शुल्क तिरेर पढाउनुभन्दा गाउँमै राम्रो शिक्षा उपलब्ध हुने सरकारी विद्यालय रोज्न थालेको उनको भनाइ छ । ‘अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुनथालेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ,’ बस्नेतले भने, ‘यहाँका निजी विद्यालयभन्दा सरकारी विद्यालय अब्बल मानिन्छ । त्यसकारण पनि अभिभावकको रोजाइमा विद्यालय परेको हो ।’
विद्यालयमा अहिले तीनवटा पक्की भवनमा ३९ वटा कक्षा कोठा छन् । आधुनिक पक्की भवन र पर्याप्त कक्षाकोठा भए पनि शिक्षकको दरबन्दी, घेराबेरा तथा अन्य व्यवस्थापन पक्षमा अझै सुधार आवश्यक रहेको छ । विद्यालयले विद्यार्थीको आवागमन सहज बनाउन यही आर्थिक वर्षदेखि स्कुल बस सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक बजेट सुनिश्चित भइसकेको छ । अवर्षबाट विद्यालय बस सञ्चालनमा ल्याउनेछ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार रानामगर विद्यार्थीको संख्या र शिक्षकको संख्याबिच ठुलो अन्तर रहेको बताउँछन् । शिक्षक अभावकै कारण विद्यालयले निजी स्रोतका शिक्षक राख्नुपरेको र त्यसको आर्थिक भार विद्यालय आफैँले व्यवस्थापन गर्नुपरेको उनको भनाइ छ । ‘विद्यार्थीको संख्या उच्च छ, शिक्षक संख्यामा कमी छ, रानाले भने ।