नेपालगन्ज नाका हुँदै तेस्रो मुलुकका ३०३ नागरिकको आउजाउ

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण
नेपालगन्ज नाका हुँदै तेस्रो मुलुकका ३०३ नागरिकको आउजाउ

फाइल तस्बिर/नयाँ पत्रिका

विगत आठ महिनामा नेपालगन्ज नाका हुँदै तीन सय तीनजना तेस्रो मुलुकका नागरिकले आउजाउ गरेका छन् । अध्यागमन कार्यालय, नेपालगन्जका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद शर्माले ५ माघदेखि तेस्रो मुलुकका नागरिकलाई नेपालगन्जबाट नेपाल प्रवेश गर्न दिन थालेको बताए । ‘पहिले नेपालगन्ज नाकाबाट तेस्रो मुलुक जाने मात्रै अनुमति थियो । ५ माघदेखि भने आवतजावत दुवै सुविधा सञ्चालन भएको छ,’ उनले भने, ‘आउनेभन्दा जानेको संख्या धेरै छ ।’

५ माघअघि नेपालबाट बिदेसिनेका लागि भिसा नवीकरण गर्ने काम मात्र हुँदै आएको शर्माले जानकारी दिए । ‘५ माघअघि वर्षमा १०–१२ जना मात्र यो नाका प्रयोग गर्थे,’ उनले भने । आठ महिनाको अवधिमा विवाहित भिसामा तीनजना र रिलेसन भिसामा ६१ जना तेस्रो मुलुकका लागि नेपालगन्ज हुँदै गएको उनले बताए ।

‘नेपालगन्ज नाकाबाट सबैभन्दा धेरै अस्ट्रेलिया जानेछन्, त्यसपछि क्यानडा र अमेरिका जाने रहेका छन्,’ शर्माले भने । तेस्रो मुलुकमा बसोवास गर्ने भारतीय मूलका नागरिक नेपालगन्ज नाका भएर आउने गरेको उनले बताए । मानसरोवर यात्राका लागि तेस्रो मुलुकमा बस्ने भारतीय मूलका नागरिक आउने गरेको बताउँदै उनले १४ वटा देशका नागरिकलाई आउन र जान प्रतिबन्ध रहेको जानकारी दिए । ‘यो अवधिमा गैरकानुनी रूपमा प्रवेश गरेका बंगलादेशी (रोहिंग्या) र माल्दिभ्सका एक–एकजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ,’ उनले भने । 

सुझावित समाचार