लहानमा ट्रमा युनिट सञ्चालन गरिने मन्त्री मेहताको दाबी

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

संघीय स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिराहाको लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने बताएकी छिन्। 

प्रादेशिक अस्पतालको अनुगमनका लागि शनिबार दिउँसो लहान आएकी मन्त्री मेहताले सडक दुर्घटनामा परेका घाइतेहरूको तत्काल प्रभावकारी उपचारका लागि पूर्व-पश्चिम लोकमार्गमा पर्ने लहानमा तत्काल ट्रमा सेन्टरको युनिट सञ्चालन गरिने उल्लेख गरिन्।

अस्पताल अनुगमनपछि उनले भनिन्, ‘ट्रमा सेन्टरको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), भवन निर्माण र बहुविशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले लहानमा ट्रमा युनिट सञ्चालन गर्छौँ।’

ट्रमा सेन्टर सञ्चालनका लागि विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरू आवश्यक पर्ने उल्लेख गर्दै उनले पूर्व-पश्चिम लोकमार्गमा पर्ने लहान क्षेत्रमा सिटी स्क्यान, ब्लड बैंक तथा आँखा अस्पतालजस्ता पूर्वाधारहरू उपलब्ध रहेकाले तत्काल ट्रमा युनिट सुरु गर्न सकिने औँल्याइन्।

मुलुकका विाभिन्न सहर तथा ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याउने सरकारको योजना रहेको दाबी गर्दै उनले सिराहाको लहान र धनुषाको ढल्केबरसँगै आवश्यकताअनुसार अन्य ठाउँमा पनि ट्रमा युनिट सञ्चालनमा आउने बताइन् । 

स्वाथ्य बिमाको पुनरवलोकन 

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता-कार्यकर्ता र सिराहा क्षेत्र नं. १ का संघीय सांसद बब्लु गुप्तासहित अस्पतालको विभिन्न विभागहरूको अनुगमनपछि उनले सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य बिमा सञ्चालनमा रहेको बताइन्।

विगतको १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको १८ अर्ब रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिँदै उनले चैत, वैशाख र जेठ १५ गतेसम्मको बिमा सेवावापतको भुक्तानी मात्र बाँकी रहेको बताइन्। ‘निजी क्षेत्रका अस्पतालहरूमा मात्र तत्कालका लागि बिमा सेवा रोकिएको हो,’ उनले भनिन्, ‘स्वास्थ्य बिमासम्बन्धी प्याकेजहरू केही अवैज्ञानिक रहेकाले त्यसको पुनरवलोकन गर्दै छौँ।’ त्यसपछि स्वास्थ्य बिमा कार्यक्रम परिमार्जनसहित थप प्रभावकारी ढंगले सञ्चालन गरिने उनले बताइन्। 

ट्रमा सेन्टर चुनावी नारा मात्र

पछिल्लो १० पुसमा तत्कालीन चुनावी सरकारका अर्थमन्त्री रामेश्वर खनालले अस्पतालपरिसरमा आयोजित जग्गा हस्तान्तरण तथा जग्गादाताहरूको सम्मान कार्यक्रम समारोहलाई सम्बोधन गर्दै पूर्व-पश्चिम लोकमार्गसँगै जोडिएको अस्पतालमा ट्रमा सेन्टरसमेत सुचारु गर्न सकिए दुर्घटनामा परेकाहरूले तत्काल सेवा पाउने बताएका थिए।

त्यस्तै, मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पनि लहानस्थित प्रादेशिक  अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न प्रदेश सरकारले पनि सक्दो सघाउने प्रतिबद्धता जनाएका थिए। 

लहानका व्यावसायिक घरानाका दिवंगत रामकुमार शारदा र उमाप्रसाद मुरारकाको स्मृतिमा अस्पताल निर्माणका लागि २०३५ सालमा दानस्वरूप प्राप्त एक बिघा १५ कट्ठा १० धुर जग्गामा ११ पुस २०३५ सालमा शिलान्यास भई १० माघ २०३९ सालमा अस्पताल उद्घाटन गरिएको थियो।

त्यसको करिब ४७ वर्षपछि अस्पतालले चर्चेको जग्गामा अस्पतालको कानुनी स्वामित्व कायम भएसँगै लहान आउने सांसद, मन्त्री तथा नेताहरूले अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न पहल गरिने आश्वासन दिए पनि सरकारको पछिल्लो प्रतिबद्धता पनि चुनावी नारा मात्र रहेको स्थानीयको गुनासो छ। 
 

सुझावित समाचार