शनिबार काठमाडौंको पाँच स्थानबाट पाँच हजार ९ सय ७२ थान ग्यास सिलिन्डर वितरण भएको छ। ग्यास आपूर्ति सहज गर्न आयल निगम र काठमाडौं जिल्ला प्रशाशन कार्यालयको समन्वयमा टेकु, चाहबिलस्थित यातायात कार्यालय, बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालयको पुरानो कार्यालय र बसुन्धरा तथा कीर्तिपुरस्थित राधास्वामीपरिसरबाट शनिबार ग्यास वितरण भएको थियो ।
यसबाहेक बालाजुस्थित नेपाल ग्यास उद्योगपरिसर र काँडाघारीस्थित एसटिसी ग्यासको डिपोबाट पनि क्रमशः ५ सय र ३ सय ३० थान ग्यास सिलिन्डर बिक्री भएको निगमले जनाएको छ ।
विभिन्न १४ ब्रान्डको ग्यासमध्ये टेकुबाट सबैभन्दा धेरै २२ सय ९० थान ग्यास सिलिन्डर बिक्री भएको छ । त्यस्तै, चाहबिलबाट सात सय २०, बबरमहलबाट १६ सय र राधास्वामीपरिसर कीर्तिपुरबाट सात सय ६२ र बसुन्धराबाट ६ सय थान बिक्री भएको निगमले जनाएको छ ।
घरनजिकैको डिलरमा ग्यास नपाएपछि शनिबार दिउँसो विभिन्न पाँच ठाउँमा खाली सिलिन्डर लिएर लाइन लाग्न पुगेका उपभोक्ता दिउँसो परेको पानीमा भिजेका थिए। दर्के पानीमा समेत भिज्दै उपभोक्ताले लाइन लागेर ग्यास लिएका थिए ।