गाडी पार्किङको बिषयमा विवाद हुँदा धारिलो हतियारको प्रहारबाट हेटौँडामा चार जना घाइते भएका छन् । घटनमा संलग्न चार जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नं १० बसपार्क क्षेत्रमा गाडी पार्किङको बिषयमा शुक्रबार युवाहरुबिच विवाद भएको थियो ।
मनहरी गाउँपालिका–१ मकरी का ३१ वर्षीय लक्ष्मण बर्तौला र अन्य व्यक्तिबिच गाडी पार्किङको विषयमा विवाद भएको थियो । विवादपछि लक्ष्मण बर्तौलाले पदमपोखरीका सुनिल थिङ, भोर्लेका करण लामा र मनहरी–१ मकरीका उज्ज्वल बर्तौलालाई बोलाएपछि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।
घटनामा मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोलेको ढाडमा गम्भीर चोट लागेको छ । त्यस्तै ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का २८ वर्षीय राइज आले मगरको ढाडमा चोट लागेको छ ।
यस्तै, चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रीनको छाती र ढाडको पछाडिको भागमा चोट लागेको छ भने राप्ती–४ डडुवा का २८ वर्षीय जीवन तामाङको दाहिने आँखामा भित्री चोट लागेको छ ।
जीवन गोले र राइज आले मगरको हेटौँडा अस्पतालमा तथा रामबहादुर पाख्रीन र जीवन तामाङको सीएमसी हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न भएको भन्दै लक्ष्मण बर्तौला, सुनिल थिङ, करण लामा र उज्ज्वल बर्तौलालाई नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको धारिलो हतियार, झडपको वास्तविक कारण र संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।