सिराहाबाट भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

शुक्रबार, २९ साउन, २०८३
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलको गस्ती टोलीले सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउँबाट करिब ५० किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार गणबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रबार बिहान करिब सवा ३ बजेतिर मोटरसाइकलमा लोड गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा ४९ किलो ७६० ग्राम प्रतिबन्धित गाँजा बरामद गरेका हो ।

गाँजा लोड भएको भारतीय बिआर ३२ एम ३०५७ नम्बरको मोटरसाइकलका चालक भने प्रहरीलाई देखेपछि फरार भएकाले मोटरसाइकल र गाँजा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिरहेको उनले बताए। 

साढे आठ क्विन्टल गाँजासहित चार पक्राउ
पछिल्लो २३ दिनको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिल्लाको छुट्टाछुट्टै ठाउँबाट आठ क्विन्टल ४६ किलो ७१५ ग्राम गाँजा बरामदसँगै एक भारतीयसहित चारजना पक्राउ परेको सिराहा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २२ साउनको बिहान इलाका प्रहरी कार्यालय लहान र महेशबारीबाट खटिएको संयुक्त गस्ती टोलीले सखुवानन्कारकट्टी गाउँपालिका– ४ बाट ९१ किलो २५ ग्रामसहित एकजना पक्राउ गरेको थियो । त्यसको अघिल्लो दिन सोही क्षेत्रबाट इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको गस्ती टोलीले बोरामा प्याक गरिएको ५३ किलो ४६५ ग्राम प्रतिबन्धित गाँजाजस्तो पदार्थ बरामद गरेको थियो । 

त्यसअघि प्रहरीले ६ साउनमा लहान नगरपालिका– ३, नयाँबस्तीस्थित स्थानीयको घर–कम्पाउन्डमा पार्किङ गरेर राखिएको फलफूल लोड भएको पिकअप भ्यानबाट ६५२ किलो गाँजाजस्तो देखिने पदार्थसहित तीनजनालाई पक्राउ गरेको थियो ।

प्रहरीले स्थानीय श्यामकुमारी साहको घर–कम्पाउन्डमा पार्किङ गरेर राखिएको बा.२१च ५८६६ नम्बरको भ्यानको पछाडि नासपती हालिएको प्लास्टिक क्रेटहरूमा ३१ वटा बोरा र दुईवटा प्लास्टिकमा लुकाएको गाँजाजस्तो पदार्थ बरामद भएपछि एक भारतीयसहित तीनजनालाई पक्राउ गरेको थियो ।

सुझावित समाचार