सिराहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका– ४, मोहोरिया टोलकी स्थानीय महिला घाँस काट्न गएका वेला गरगहना लुट्न घाँटी रेटेर हत्या प्रयास गरेका फरार प्रतिवादी ५२औँ दिनमा पक्राउ परेका छन्।
स्थानीय दिनेश गोइतकी श्रीमती करिब ४० वर्षीया चन्द्रकलादेवी यादव गत ५ असारको अपराह्न घाँस काटिरहेको अवस्थामा गहना लुट्न हत्या प्रयास गरेका पूर्वी धनुषाको कमला नगरपालिका– ४, सघारा स्थायी घर भई कल्याणपुर– ४ स्थित ससुराली बस्दै आएका करिब ३५ वर्षीय इसरुल कवारीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनापछि फरार रहेका कवारीलाई खोजतलासको क्रममा धनगढीमाई नगरपालिका– ११ बाट पक्राउ गरिएको हो। घरमा पालेको वस्तुभाउका लागि खेतमा घाँस काटिरहेको अवस्थामा प्रतिवादीले पछाडिबाट घाँटी समातेर महिलाको हातमा रहेको हँसिया खोसेर करिब एक इन्च गहिरो र ६ इन्चजति लामो घाउ हुने गरी घाँटी रेटेर रक्ताम्य बनाएको उनले बताए।
प्रहरीका अनुसार गहिरो घाउको कारणले रक्ताम्य भएर ढलेपछि महिलाले लगाएको सुनको गहना लुटेर कवारी फरार भएका थिए। पक्राउ गरिएका प्रतिवादी कवारीलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।