१४ महिनादेखि तलबविहीन हेटौँडा सिमेन्टका कर्मचारी

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

सात दशकको इतिहास बोकेको हेटौँडा सिमेन्ट उद्योगको मेसिन, खानी र भौतिक संरचना हुँदाहुँदै पनि उत्पादन ठप्प छ । उद्योगमा कार्यरत १२० स्थायी कर्मचारी १४ महिनादेखि पारिश्रमिकविहीन छन् ।

उद्योग प्रशासनका अनुसार स्थायी कर्मचारीको तलबबापत मात्रै १२ करोड ३० लाख भुक्तानी गर्न बाँकी छ । यस्तै, दक्ष तथा अदक्ष लेबरको तलबतर्फ एक करोड ५३ लाख, सुरक्षा सेवाबापत एक करोड ८४ लाख, र अतिरिक्त कार्य समय (ओभरटाइम) बापत ७२ लाख ४८ बक्यौता छ ।

यसैगरी, चालू आर्थिक वर्षको सामूहिक सावधिक जीवन बिमाबापत एक करोड ८६ लाख, सञ्चय कोषकट्टी दायित्वबापत एक करोड ७२, नागरिक लगानी कोषबापत ३७ लाख ५३ र अवकाशप्राप्त कर्मचारीको उपदान दायित्व चार करोड ९० लाख बाँकी छ । तलबकट्टी दायित्वबापत पनि तीन लाख २५ हजार बाँकी रहेको उद्योगको विवरणमा उल्लेख छ ।

उत्पादन गर्न पुँजीको अभाव
उद्योगका महाप्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार करिब तीन वर्षदेखि उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । ‘कोइला र जिप्सन ढुंगा खरिद गर्न आवश्यक रकम नै छैन,’ श्रेष्ठले भने, ‘नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग पटक–पटक कर्जा सुविधाका लागि अनुरोध गरियो, तर कुनै ठोस निर्णय भएन ।’

कोइला र जिप्सन ढुंगा खरिदका लागि रकम अभाव भएपछि उत्पादन सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । उद्योगले विगतका दायित्व भुक्तानी गर्न नसकेपछि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका आपूर्तिकर्ताले समेत सामान दिन छाडेका छन् । निमित्त महाप्रबन्धक श्रेष्ठका अनुसार एउटै आपूर्तिकर्तालाई मात्रै करिब १३ करोड भुक्तानी गर्न बाँकी छ । उद्योग पुनः सञ्चालनका लागि भौतिक संरचनाको सबलीकरण, मेसिनरी आधुनिकीकरण र कर्मचारीसम्बन्धी समस्या समाधान एकैपटक गर्नुपर्ने अवस्था छ ।

चार वर्ष लगातार नाफा, त्यसपछि निरन्तर घाटा
२०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको हेटौँडा सिमेन्टको वित्तीय इतिहास उतारचढावपूर्ण छ । आर्थिक वर्ष ०६६/६७ र ०६७/६८ सम्म उद्योग नाफामा थियो । त्यसपछि ०६८/६९ देखि ०७०/७१ सम्म लगातार तीन वर्ष घाटामा गयो । त्यसपछि आर्थिक वर्ष ०७१/७२ देखि ०७४/७५ सम्म चार वर्ष लगातार नाफामा फर्किएको उद्योगले ०७४/७५ मा १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

तर, त्यसयता भने उद्योग निरन्तर घाटामा छ । व्यवस्थापनका अनुसार निजी क्षेत्रका सिमेन्ट उद्योगसँग बढ्दो प्रतिस्पर्धा, कच्चा पदार्थको निरन्तर मूल्यवृद्धि र उत्पादन लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री गर्नुपर्ने बाध्यताले उद्योगलाई आर्थिक संकटतर्फ धकेलेको हो ।

प्रधानमन्त्री बालेनको भाषणदेखि उद्योगमन्त्रीको निरीक्षणसम्म
गत वर्ष १५ फागुनमा चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावीसभालाई सम्बोधन गर्दै बालेन्द्र शाहले हेटौँडा सिमेन्टलाई उदाहरण दिँदै सरकारी उद्योग सञ्चालन गर्नुपर्ने बताएका थिए । ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखानाजस्तै भएको छ । मेसिन पनि छ, म्यानपावर पनि छ, खानी पनि छ, तर बन्द । अब चल्नुपर्यो,’ उनले भनेका थिए । चुनावमा भारी बहुमतका साथ शाह प्रधानमन्त्री बनेपछि बन्द तथा रुग्ण उद्योग सञ्चालनका लागि प्रयास सुरु भए । गत १० जेठान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा सिमेन्ट उद्योगको स्थलगत अवलोकनसमेत गरिन् ।

मन्त्री यादवले उद्योग प्रशासन तथा कर्मचारीसँग उद्योग सञ्चालनको सम्भावनाबारे छलफल गर्दै सरकारले बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्ने नीति अघि बढाइरहेको बताएकी थिइन् । तर, मन्त्रीको निरीक्षण र आश्वासनपछि पनि उद्योग सञ्चालनका लागि आवश्यक चालू पुँजी जुटाउने विषयमा ठोस निर्णय हुन सकेको छैन ।

कपडा उद्योगमा परीक्षण उत्पादन, सिमेन्टमा लगानीको प्रतीक्षा
सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनसमेत अघि बढाइसकेको छ । नेपाली सेनाको नेतृत्वमा कपडा उद्योगका पुराना मेसिन तथा तान मर्मत गरी परीक्षण उत्पादन सुरु गरेको छ । तर, हेटौँडा सिमेन्ट उद्योग भने सञ्चालनमा ल्याउन आवश्यक लगानी र चालू पुँजीको अभावमा हेरेको हेरै छ ।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भइरहँदा सञ्चालनकै अवस्थामा रहेको हेटौँडा सिमेन्टलाई आवश्यक कच्चा पदार्थ खरिद गर्ने रकमसमेत जुट्न नसक्नु सरकारी उद्योग सञ्चालन नीतिमाथि प्रश्न बनेको छ । अहिले उद्योगपरिसरमा मेसिनहरू थन्किएका छन्, उत्पादन रोकिएको छ र कर्मचारीहरू १४ महिनादेखि तलबको प्रतीक्षामा छन् । उद्योग पुनः सञ्चालनको ठोस निर्णय नहुँदा हेटौँडा सिमेन्टको भविष्यसँगै त्यहाँ कार्यरत १२० जना कर्मचारीको रोजगारी र करोडौँ रुपैयाँबराबरको कर्मचारी दायित्वसमेत अनिश्चित बनेको छ ।

सुझावित समाचार