बोरा अभावका कारण ६ महिनादेखि गोदाममै थन्किएका उदयपुर सिमेन्ट उद्योगको ‘गैँडा छाप’ सिमेन्ट बिक्री हुन थालेको छ । उत्पादित सिमेन्ट प्याकिङका लागि बोरा जुटेपछि उद्योगले मंगलबारदेखि बिक्री सुरु गरेको हो । करिब ६ करोडबराबरको सिमेन्ट गोदाममा थन्किएको अवस्थामा दुई दिनमा पाँच लाख २२ हजारको बिक्री भएको छ । उद्योगका उत्पादन विभाग प्रमुख नगेन्द्रप्रसाद देवका अनुसार मंगलबारदेखि प्रतिबोरा ७२५ रुपैयाँका दरले सात सय २० बोरा सिमेन्ट बिक्री भइसकेको छ । ‘मंगलबारदेखि बिक्री सुरु गरेका छौँ । अहिलेसम्म दुई ट्रक, करिब ७२० बोरा सिमेन्ट बजार पठाइसकेका छौँ,’ देवले भने ।
अहिले तत्कालका लागि चितवनस्थित आशीर्वाद पोली प्याक्सबाट ५३ हजार १८७ वटा बोरा खरिद गरिएको उद्योगका निमित्त महाप्रबन्धक वैद्यनाथ झाले बताए । ‘बोरा आपूर्तिकर्ताले प्रतिबोरा १७ रुपैयाँको दरले दिएको छ । सिमेन्ट बिक्रीबाट प्राप्त रकमबाट भुक्तानी गर्ने सर्तमा तत्कालका लागि बोरा ल्याएका हौँ, अब बिक्रीबाट प्राप्त रकमले पहिला बोराको भुक्तानी गर्नुपर्नेछ,’ झाले भने ।
उद्योगका अनुसार अहिले गोदाममा करिब ४० हजार बोरा तयारी सिमेन्ट मौज्दात छ । यसको मूल्य करिब चार करोड पर्छ । त्यसबाहेक सिमेन्ट उत्पादनका लागि तयार पारिएको करिब २० हजार बोराबराबरको क्लिंकर पनि मौज्दात छ, जसको मूल्य करिब दुई करोड रुपैयाँ पर्ने उद्योगको अनुमान छ । यसरी तयारी सिमेन्ट र क्लिंकर गरी करिब ६ करोड रुपैयाँबराबरको उत्पादन तथा कच्चा पदार्थ उद्योगमा थन्किएको छ ।
उत्पादन बन्द, कर्मचारीको तलब १७ महिनादेखि रोकियो
लामो समयदेखि उत्पादन बन्द हुँदा उद्योग आर्थिक तथा व्यवस्थापकीय संकटमा फस्दै गएको छ । उद्योगमाथिको दायित्व पाँच अर्ब ३० करोड रुपैयाँभन्दा बढी पुगेको निमित्त महाप्रबन्धक झाले बताए । पछिल्लोपटक फागुनदेखि उद्योगको उत्पादन पूर्ण रूपमा बन्द छ । उद्योगमा कार्यरत कर्मचारीले १७ महिनादेखि तलब नपाएको झा बताउँछन् । उनले भने, ‘यहाँ भएको सबै सिमेन्ट बिक्री गर्दा पनि कर्मचारीको तलबभत्ता दिन सक्ने अवस्था छैन । त्यसलाई सुधार गर्ने गरी तयारी गरिरहेको छु ।’
उद्योग लामो समयदेखि बन्द रहेकाले अधिकांश कर्मचारी नियमित कामविहीन छन् । उद्योगमा १७५ जना स्थायी कर्मचारी कार्यरत छन् । तीमध्ये अधिकांश उद्योगपरिसरमै भेला भएर दिन बिताउने गरेका छन् । व्यक्तिगत काममा निस्कने कर्मचारीसमेत छन् । उद्योगको सुरक्षाका लागि खटिएका ५८ जना सुरक्षाकर्मी भने नियमित ड्युटीमा छन् ।