स्कुलबसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

सुनसरीको गढी गाउँपालिका– ४, मेहताटोलमा स्कुलबसको ठक्करबाट ७५ वर्षीया गुद्रीदेवी मेहताको मृत्यु भएको छ।

छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को.१ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इंग्लिस स्कुल, चिमडीको बसले सडकछेउमा बसिरहेकी गढी गाउँपालिका– ४, मेहताटोल निवासी मेहतालाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएकी मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम, विराटनगर पठाएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले बस र चालक बर्जु गाउँपालिका– ६ निवासी २२ वर्षीय सुदीप सरदारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार