जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न मुद्दामा फरार रहेका तीनजना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका– १२ का २१ वर्षीय सुभाष केसी, सिद्धकुमाख गाउँपालिका– १ का ४२ वर्षीय हिरालाल बुढाथोकी र कुमाख गाउँपालिका– ६ का २७ वर्षीय टीकाराम रावत रहेका छन् । केसीलाई जिल्ला अदालत सल्यानले चोरी मुद्दामा ४० हजार रुपैयाँ, बुढाथोकीलाई चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना र रावतलाई विभिन्न मुद्दामा अदालतबाट दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि सल्यान जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए। प्रहरीले अदालतबाट फैसला भई सजाय तथा जरिवाना तोकिएका, तर फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।