नेपाली कांग्रेस इतर पक्ष राष्ट्रिय भेला आयोजक समितिका संयोजक एवं पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्वमा पूर्वसभापति शेरबहादुर देउवालाई विमानस्थलमै भव्य स्वागत गर्ने तयारीमा जुटेको छ । २८ साउनको दिउँसो देउवा काठमाडौं फर्किने तयारी छ । विमानस्थलमै हजारौँ कार्यकर्ताले स्वागत गर्ने तय भएको नेता मीन विश्वकर्माले बताए ।
इतर पक्षले आह्वान गरेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शेखर कोइरालाले मंगलबार पठाएको पत्रमाथि संस्थापन पक्षको जारी केन्द्रीय समिति बैठकमा बुधबार छलफल हुने भएको छ । पूर्वमहामन्त्री कोइरालाको नाममा सार्वजनिक पत्रबारे मंगलबार बैठकमा छलफल नभएको र बुधबार हुन सक्ने केन्द्रीय सदस्य विनिता खड्काले बताइन् ।
उनका अनुसार मंगलबारको बैठकमा धारणा राख्ने सबै सदस्यले १५औँ महाधिवेशन तोकिएकै समयमा गर्नुपर्ने धारणा राखेका छन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्धारित समय १६–१९ असोजमै महाधिवेशन गर्नेमा दृढ रहेको उनले बताइन् । उनका अनुसार तोकिएकै समयमा महाधिवेशन सम्पन्न गरेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएका छन् । ‘तोकिएको समयमा महाधिवेशन सम्पन्न गरेर नयाँ ढंगले पार्टीलाई अगाडि बढाउनुपर्छ र मिलाउनुपर्ने विषय मिलाउँदै जानुपर्छ भन्ने धेरैको धारणा छ,’ उनले भनिन् ।
सहमहामन्त्री कर्णबहादुर बुढाले समयतालिकाभित्रै महाधिवेशन गर्नुपर्नेमा केन्द्रीय कार्यसमितिमा एकमत रहेको बताए । ‘१५औँ महाधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोजमै हुन्छ । समयतालिकाभित्रै महाधिवेशन गर्नुपर्नेमा केन्द्रीय कार्यसमितिमा एकमत रहेको छ,’ उनले भने, ‘सभापतिले पनि महाधिवेशनको मिति तलमाथि नहुने स्पष्ट पारिसक्नुभएको छ । अदालतले निर्णय गर्यो भने अर्कै कुरा भयो । अन्यथा, बाहिर प्रचारका लागि भनिएका कुराको कुनै तुक हुँदैन ।’ यसअघि कांग्रेस सभापति थापाले कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी १६–१९ मंसिरमै हुने बताइसकेका छन् । पार्टीको विधान र कानुनअनुसार तय गरिएको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ । मंगलबारको बैठकमा दिलेन्द्रप्रसाद बडू, विनिता खड्का, अब्दुल सत्तार, मैकुलाल वाल्मीकि, चम्पादेवी खड्का, जानकी सिंह, सुधीरकुमार सिवाकोटी, नरेन्द्रकुमार केरुङ, सुवासकुमार पोखरेललगायतले बोलेका थिए ।