नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु

मोबिलिटीलाई राजस्व उठाउने क्षेत्रका रूपमा मात्रै नहेर्न निजी क्षेत्रको आग्रह

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ सुरु भएको छ । ३१ साउनसम्म सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डहरूको सहभागिता रहेको छ ।

मंगलबार कार्यक्रमको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालका लागि सुरक्षित मानिने सवारीसाधनको प्रयोगमा जोड दिनुपर्ने बताए । उनले भने ‘अहिले सडक दुर्घटनाको डरलाग्दो तथ्यांक छ । गत आवमा २९ हजार नौ सय ८८ वटा सवारी दुर्घटना भए । त्यसमा २७ सय सातजनाको मृत्यु र ४७ हजार पाँच सय ५३ घाइते भए । अहिले दैनिक औसतमा ८२ दुर्घटना हुँदा सातजनाको मृत्यु र एक सय ३० जना घाइते हुने रहेछन् । यो तथ्यांक सुन्न पनि नसकिने र भन्न पनि मन नलाग्ने छ । तर, यथार्थ यही हो ।’

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन ऐन ल्याउने तयारी भएको बताए । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले मोबिलिटी क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकारबिच सहकार्य आवश्यक रहेको बताइन् । ब्याट्री रिसाइक्लिङ नीति, इथानोल ब्लेन्डिङ, आधुनिक परीक्षण पूर्वाधार र सहायक उद्योगको विकासमा नाइमा सरकारसँग सहकार्य गर्न तयार रहेको उनले बताइन् । पटक–पटक फेरिने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेकाले नयाँ लगानी भित्रिन समस्या भइरहेको उनले बताइन् । एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा ल्याउने साझा मञ्च भएको उनले बताइन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई राष्ट्रिय औद्योगिकीकरण, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधारका रूपमा हेरिनुपर्ने बताए । राजस्वको स्रोतका रूपमा मात्रै यो क्षेत्रलाई हेर्न नहुने उनको भनाइ छ । ‘मोबिलिटी कनेक्टिभिटी, ऊर्जा, प्रविधि, वातावरण र अन्ततः आर्थिक विकाससँग जोडिएको छ । तसर्थ, यस क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘साथै, विद्युतीय सवारीसाधनका लागि स्थिर नीति आवश्यक छ ।’ 

नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्र पाण्डेले अटोमोबाइल राजस्वमा उच्च योगदान गर्ने क्षेत्र भएको बताए । साथै, यसले रोजगारी सिर्जनामा पनि उच्च योगदान दिएको उनको भनाइ छ । यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान सात प्रतिशत भएको दाबी गर्दै १२ लाख रोजगारी सिर्जना भएको बताए ।

तीन करोड ८० लाख पर्ने गाडी
मेलामा १८ लाखदेखि तीन करोड ८० लाख रुपैयाँसम्मका गाडी छन् । प्रदर्शनीमा रहेको हेनरी भोल्टसको मोडेल एचको मूल्य १८ लाख ५० हजार पर्ने कम्पनीले जनाएको छ । त्यस्तै, टियागो फेसलिस्टको मूल्य २९ लाख छ । तीन करोड ८० लाख रुपैयाँ पर्ने डेन्जाको बी ८ मोडेलको गाडी सबैभन्दा महँगो मानिएको छ । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडेलका सवारीसाधन सार्वजनिक गरेका छन् । मेलाको पहिलो दिन २९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

See More On

सुझावित समाचार