संसद् भवन निर्माणको म्याद सातौँपटक थपिँदै

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

साढे सात वर्षमा पनि निर्माण सम्पन्न हुन नसकेपछि सिंहदरबारस्थित पुतली बगैँचाको संघीय संसद् भवनको निर्माण म्याद सातौँपटक थपिने भएको छ । सार्वजनिक खरिद ऐनको १५औँ संशोधनपछि म्याद थपको बाटो खुलेसँगै निर्माण कम्पनी तुँदी–सेक जेभीलाई थप समय दिन लागिएको सहरी तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले बताए ।

‘१५औँ संशोधनपछि म्याद थप गर्न सकिने भएको छ । संशोधनअनुसार एक वर्षसम्म जरिवाना नलाग्ने व्यवस्था छ । कामको प्रकृति र प्रगतिका आधारमा थप गर्नुपर्ने समय निर्धारण गरिनेछ,’ श्रेष्ठले बताए । 

निर्माणको ढिलाइका कारण यसअघि छैटौँपटक थपिएको म्याद पनि गत जेठमा सकिएको थियो । त्यसअघि पाँचौँपटक थपिएको म्याद गत वर्ष १६ पुसमा सकिएपछि ९० दिनका लागि म्याद थप भएको थियो । तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यका साथ १ असोज ०७६ मा शिलाल्यान्स भएको संघीय संसद् भवनमा अहिले अस्थायी रूपमा प्रतिनिधिसभा र राष्ट्रिय सभा चलिरहेका छन् ।

पुतली बगैँचाको १५१ रोपनी क्षेत्रफलमा निर्माणाधीन संघीय संसद् भवन आयोजनाको लागत पाँच अर्ब ३९ करोड हो । आठवटा ब्लक छन्, जहाँ  १२ वटा छुट्टाछुट्टै भवन छन् । जसमा चार सय सिट क्षमताको प्रतिनिधिसभा र सय सिट क्षमताको राष्ट्रिय सभा छ । यी दुवैका बिचमा मुख्य प्रवेशद्वार छ, जसको दाहिनेतिर राष्ट्रिय सभा र देब्रेतर्फ प्रतिनिधिसभा छ । 

सुझावित समाचार