सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराको निजगढ नगरपालिका–९ का निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उप्रेती यसअघि पनि बोर्डको कार्यकारी निर्देशकका लागि सिफारिसमा परेका थिए। यसअघिका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीको कार्यकालका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिफारिस गरेका तीनमध्ये एकजना उप्रोती थिए।
सो समयमा बोर्डको कार्यकारी निर्देशकमा बाराकै कोल्हवी नगरपालिकानिवासी डा. द्वारिका उप्रेती नियुक्त भएका थिए। डा. द्वारिकाको कार्यकाल समाप्त भएपछि सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि प्रक्रिया अघि बढाएको थियो। सोही प्रक्रियाअनुसार यसपटक निर्मलकुमार उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।
बोर्ड वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक र उनीहरूका परिवारको कल्याणसँग प्रत्यक्ष रूपमा जोडिएको छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने, अंगभंग वा गम्भीर स्वास्थ्य समस्या भएका श्रमिकलाई सहयोग गर्ने, उद्धार तथा राहतसम्बन्धी कार्य गर्नेलगायतका जिम्मेवारी बोर्डसँग छन्।
त्यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सिप विकास, सचेतना, कल्याणकारी कार्यक्रम तथा उनीहरूका परिवारलाई लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्नु पनि बोर्डको महत्त्वपूर्ण कार्यक्षेत्र हो।