कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
उक्त सहयोग विशेष गरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिने बताइएको छ।
नेपाल सरकारअन्तर्गत सञ्चालन भइरहेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो। केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकतालाई सम्बोधन गर्न उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।
‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।