प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलहरूको विरोध

मंगलबार, २६ साउन, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।

सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्। प्रधानमन्त्री शाहले उक्त बैठकमा ‘भारतको भूमि नेपालले मिचेको’ आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे आपत्ति जनाउँदै आएका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहबाट उक्त अभिव्यक्तिबारे स्पष्ट धारणा आउनुपर्ने तथा अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।

तर, हालसम्म प्रधानमन्त्री शाहले उक्त विषयमा स्पष्टीकरण दिएका छैनन्। सभामुख अर्यालले पनि उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छैनन्।

यही विषयलाई लिएर विपक्षी सांसदहरूले मंगलबार पनि बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका हुन्।

सुझावित समाचार