निजामती (सिभिल) अस्पतालमा बिरामीको भिड बढेपछि जाँच र परीक्षणमा समेत हम्मेहम्मे हुने गरेको छ । भिडियो एक्सरे र ल्याब टेस्टमा समेत भिड बढेको छ । छिटो पालो आउने आसमा बिरामी बिहानैदेखि लाइनमा बस्छन् । कतिपय विभागको सीमित टिकट बाँडिने भएपछि बिरामी बिहानैदेखि लाइन लाग्न पुग्छन् । तर, सबैरे आएर टिकट काटेका बिरामीले ९ बजेपछि मात्रै डाक्टरलाई ओपिडीमा भेट्न पाउँछन् ।
अस्पतालले कतिपय विभागको सेवा सातामा दुई दिन मात्रै गरेको छ । गाइनोकोलोजी, युरोलोजी, हाडजोर्नीलगायत सेवा सातामा चार दिन मात्रै प्रवाह गरिन्छ । जसकारण सेवा सञ्चालन भएको दिन बिरामीको संख्या अत्यधिक हुने गरेको छ । अस्पताल प्रशासनका अनुसार विभाग हेरेर टिकट वितरण गरिन्छ । कतिपय विभागका चिकित्सकले दैनिक दुई सयसम्म बिरामी हेर्छन् । तर, कतिपय विभागमा भने सीमित टिकट वितरण गरिन्छ । डाक्टरको संख्याअनुसार अस्पतालले बिरामीलाई टिकट वितरण गर्छ । सीमित टिकट वितरण गर्दा कतिपय बिरामी फर्किने गरेका छन् ।
दुई महिनाअघि अस्पतालले बिरामीले चाहेको डाक्टरलाई देखाउन सक्ने नियम लागू गरेको थियो । त्यसअघि तीन महिना नियम बन्द गरिएको थियो । आफूले चाहेका चिकित्सकलाई जाँच गराउन नपाइने भएपछि बिरामीको संख्या घटेको थियो । तर, दुई महिनायता यो नियम लागू गरिएपछि बिरामीको संख्या बढेको अस्पतालका अस्पतालका कार्यकारी निर्देशन प्राडा. जितेन्द्र परियारले बताए । उनका अनुसार पछिल्लो दुई महिनायताको तथ्यांक हेर्दा दैनिक एक हजार आठ सय बिरामी आउँछन् । त्यसअघि विभागमा जो डाक्टर छन्, उनैलाई जाँच गराउनुपर्ने नियम कायम रहेको समयमा एक हजार एक सय बिरामी आउँथे । तर, पुनः बिरामीले नै छानेको डाक्टरलाई जाँच गराउन सक्ने नियम ल्याएपछि बिरामीको संख्या बढेको उनको भनाइ छ ।
परियारका अनुसार हाल अस्पतालमा ५० जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । अस्पतालले २५ वटा विभागबाट सेवाप्रवाह गरिरहेको छ । अन्य सरकारी अस्पतालमै नभएको बोनम्यारो ट्रान्सप्लान्ट पनि यही अस्पतालमा छ । ‘अहिले बिरामीको संख्या बढ्नुको कारण रोजाइको डाक्टर मात्रै नभएर अरू पनि हुन्,’ परियारले भने, ‘आइतबार बिदा हुँदा पनि बिरामी बढेका छन्, निजामती कर्मचारीको उपचार थलो पनि यहीँ हो, तर यहाँ आउने बिरामीमध्ये ९० प्रतिशत सर्वसाधारण बिरामी नै हुनुहुन्छ ।’
पछिल्लो समय बिरामीले आफ्नै रोजाइको डाक्टरलाई भेट्न टिकट लिएर धेरैबेर लाइनमा बस्नुपर्ने बाध्यता थपिएको छ । केही डाक्टरलाई नै देखाउन भनेर आउने बिरामीको संख्या बढी छ । अस्पतालले हाल भौतिक रूपमा टोकन बन्द गरेको छ । तर, अनलाइनबाट भने टोकन लिन सकिन्छ । प्रिन्ट गरेर बाँडिने टोकनको दुरुपयोग भएपछि टोकन बन्द गरेर लाइन लाग्ने व्यवस्था गरेको परियारको भनाइ छ । बिरामीको संख्या बढेपछि हाल अस्पतालले काउन्टरको संख्यासमेत बढाएर पाँचवटा बनाइएको छ ।
‘निजी अस्पतालमा बढी खर्च भपछि यहाँ आएकी हुँ,’ सोमबार अस्पतालमा भेटिएकी भक्तपुरकी सुनिता श्रेष्ठले भनिन्, ‘भिड त छ, तर आफूले चिनेको डाक्टरलाई देखाउँदा ढुक्क हुन्छ भनेर यहाँ आएँ ।’ सिभिलमा गाइनोकोलोजिस्टमा चर्चित डा. मोहनचन्द्र रेग्मी, अरुण जोशी, उषा श्रेष्ठ, रिना महर्जनलगायत छन् । अर्थोपेडिक्समा डा. सुमन मरहट्ठा, अरुण सिग्देल, परिमल आचार्यलगायत छन् ।