साउदी अरब, टर्की र पाकिस्तानले रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । सुरक्षासम्बन्धी चिन्ता बढिरहेको समयमा क्षेत्रीय शक्तिका रूपमा रहेका तीन मुलुकबिचको सहकार्यलाई अझ सुदृढ बनाउँदै तीन देशले रक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस सम्झौताअनुसार तीमध्ये कुनै एकमाथि हुने आक्रमणलाई तीनै मुलुकमाथिको आक्रमणका रूपमा लिइनेछ ।
साउदी अरबको पवित्र सहर मक्कामा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेसप तैयप एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफबिच भएको बैठकका क्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।
सुन्नी मुस्लिम बहुल तीन राष्ट्रबिचको यो सम्झौताले तेलमा धनी साउदी अरब, आणविक शक्ति सम्पन्न पाकिस्तान र नेटोको दोस्रो ठुलो सेना तथा तीव्र गतिमा विकास भइरहेको रक्षा उद्योग भएको टर्कीलाई एकै ठाउँमा ल्याएको छ । यसले क्षेत्रीय अनिश्चितता र इरानमा जारी द्वन्द्वबाट उत्पन्न खतरा बढेको वर्तमान अवस्थामा आपसी सहयोग र प्रतिरोध क्षमतालाई अभिवृद्धि गर्नेछ ।
पाकिस्तानको विदेश मन्त्रालय र टर्कीको राष्ट्रपतिको सञ्चार निर्देशनालयले जारी गरेको समान विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौताको उद्देश्य कुनै पनि प्रकारको आक्रामक कार्यविरुद्ध सामूहिक प्रतिरोध क्षमतालाई सुदृढ पार्नु हो । साथै, यसमा तीनमध्ये कुनै पनि राष्ट्रमाथि हुने सशस्त्र आक्रमणलाई ती सबैमाथि भएको आक्रमणका रूपमा लिइने व्यवस्था गरिएको छ ।’
‘यसले तीन राष्ट्रबिच रक्षा सहयोगका सबै पक्षलाई सुदृढ पार्ने व्यवस्था पनि गर्छ,’ विज्ञप्तिमा भनिएको छ । साथै, यस सम्झौतालाई ‘मक्का संयुक्त रक्षा सम्झौता’ भनिएको पनि उल्लेख गरिएको छ । यसअघि टर्कीका सञ्चार माध्यमले जनाएअनुसार यस सम्झौताले संयुक्त सैन्य अभ्यास तथा तालिम, प्रविधि हस्तान्तरण र गुप्तचर जानकारीको आदानप्रदानलाई अनुमति दिने सम्भावना छ ।
इरानसँगको द्वन्द्वका क्रममा आफ्ना महत्वपूर्ण पूर्वाधार र तेलसम्बन्धी संरचनामा आक्रमणको सामना गरिरहेको साउदी अरबले आफ्ना रक्षा साझेदारीलाई विविधीकरण गर्ने प्रयास गरिरहेको छ । गत सेप्टेम्बरमा पाकिस्तान र साउदी अरबबिच एक–आपसी रक्षा सम्झौतामा हस्ताक्षर भयो, जसमा कुनै पनि एक राष्ट्रमाथि हुने आक्रमणलाई दुवै राष्ट्रमाथिको आक्रमण मानिने व्यवस्था गरिएको छ । गाजा तथा इरान र लेबनानको युद्धलगायत अन्य क्षेत्रीय द्वन्द्वलाई लिएर टर्की र इजरायलबिच बढ्दो तनावबिच यो सम्झौता भएको हो ।