इंग्ल्यान्डका जैबले फेरि सुदूरपश्चिमबाटै खेल्ने

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण

दुईपटकको साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल), २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा भिœयाएको छ । जैब पहिलो संस्करणमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । दोस्रो संस्करणमा उनले चितवन राइनोजबाट प्रतिस्पर्धा गरेका थिए । सुदूरपश्चिमबाट पुनः एनपिएल खेल्ने अवसर पाउँदा आफू घर फर्किएको उनले बताएका छन् । 

सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जैबबाट यसपटक पनि पहिलो संस्करणमा जस्तै उत्कृष्ट योगदानको अपेक्षा राखेको जनाए । एनपिएलको पहिलो संस्करणमा जैबले सर्वोत्कृष्ट खेलाडी उपाधि जित्दा नौ खेलमा दुई अर्धशतकसहित २७५ रन बनाएका थिए । उनले बलिङमा १२ विकेट लिएका थिए । गत वर्ष मंसिरमा भएको दोस्रो संस्करणमा उनी चितवनमा आबद्ध भए । उनले ७ खेलमा ११६ रन बनाउनु साथै पाँच विकेट पनि लिए । 

टी–२० फ्रेन्चाइजमा उत्कृष्ट अलराउन्डरका रूपमा रहेका जैबले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका छैनन् । तर, उनी इंग्ल्यान्डको घरेलु क्रिकेटमा सक्रिय छन् । बायाँहाते ब्याट्सम्यान जैबले ११२ टी–२० क्रिकेटमा १४० भन्दा बढीको स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् । उनले अहिलेसम्म एक हजार ७९२ बटुलेका छन् । बायाँहाते स्लो स्पिनर जैबले टी–२० क्रिकेटमा २३ विकेट पनि लिएका छन् । उनले पछिल्लो समय भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा खेलेका थिए ।

सुदूरपश्चिममा फर्किंदा जैब दंग
सुदूरपश्चिममा फर्किएपछि जैबले आफू निकै हर्षित भएको बताएका छन् । ‘म फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुसी छु,’ सोसल मिडियामा उनले भनेका छन्, ‘नेपालमा फेरि आएर खेल्न उत्साहित छु ।’ यसैगरी सुदूरपश्चिमका सिइओ खड्काले जैब एनपिएलमा परिपक्व हुँदै गएको बताए । ‘जैबलाई फेरि टोलीमा स्वागत गर्न पाउँदा खुसी र उत्साहित छौँ । यसपटक पनि उनीबाट पहिलो संस्करणमा जस्तै योगदानको अपेक्षा राखेका छौँ,’ खड्काले भने । 

सुदूरपश्चिमले तेस्रो एनपिएलका लागि कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो । यस्तै, अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई टोलीमा भित्र्याएको छ ।

सुझावित समाचार