शेखरले किन फिर्ता गरे कोइरालानिवास पुनर्निर्माणको दुई करोड ?

जेन–जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको कोइरालानिवास डा. शेखर कोइरालाले आफ्नै खर्चमा पुनर्निर्माण गरेकाले नैतिक संकट उत्पन्न भएपछि सरकारी बजेट फिर्ता गरेका हुन् ।

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण
शेखरले किन फिर्ता गरे कोइरालानिवास पुनर्निर्माणको दुई करोड ?

जेन–जी आन्दोलनमा ध्वस्त भएको कोइरालानिवास पुनर्निर्माणपछि ।

गत वर्ष भदौमा जेन–जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको विराटनगरस्थित कोइरालानिवास पुनर्निर्माणका लागि सरकारले दिएको दुई करोड रुपैयाँ कांग्रेस नेता डा. शेखर कोइरालाले फिर्ता गरेका छन् । विराटनगर महानगरपालिका– ७, अस्पताल चोकमा रहेको कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालाले झन्डै ९० वर्षअघि बनाएको कोइरालानिवास मर्मत तथा संरक्षणका लागि सरकारले दिएको दुई करोड रुपैयाँ निवासधनीसमेत रहेका कांग्रेसका नेता डा. नेता शेखर कोइरालाले फिर्ता गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएको कोइरालानिवास पुनर्निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो । कोइरालाले २० साउनमा मन्त्रालयका सचिवलाई पत्र लेख्दै निवास पुनर्निर्माणका लागि आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत विनियोजन गराएको रकम स्वीकार गर्न नैतिक रूपले असमर्थ रहेको भन्दै फिर्ता गर्न आग्रह गरेका छन् । उनले मुलुकका धेरै नागरिक गरिबी, अभाव र कठिन जीवनसँग संघर्ष गरिरहेका वेला सीमित स्रोत–साधन उनीहरूको उत्थानमा प्रयोग हुनुपर्ने संस्कृति मन्त्रालयका सचिवलाई लेखेको पत्रमा उल्लेख गरेका छन् । कोइरालानिवासका लागि विनियोजन गरिएको रकम फिर्ता गरी जनहितका क्षेत्रमा खर्च गर्न सरकारसँग शेखरको आग्रह छ ।

शेखरले बजेट निकासा हुनुभन्दा अगाडि नै आफ्नै खर्चमा निवास पुनर्निर्माण गरिसकेका थिए । यसैले गर्दा कोइरालानिवास पुनर्निर्माणका लागि निकासा भएको रकम स्वीकार गर्न उनलाई नैतिक समस्या आइपरेको विराटनगरका कांग्रेस नेता कार्यकर्ता बताउँछन् । कांग्रेस कार्यकर्ता धीरज दाहाल भन्छन्, ‘विराटनगरमा अब कांग्रेसको इतिहास बोक्ने सार्वजनिक कोइरालानिवास नै छैन । कोइरालाहरूको निजी निवास मात्रै छ । यसैले सार्वजनिक सम्पत्तिका रूपमा सरकारको बजेट स्विकार्ने कुरै आउँदैन ।’ 

राष्ट्रिय सम्पत्ति बन्न सकेन कोइरालानिवास 
स्वर्गीय कृष्णप्रसाद कोइरालाका पाँच भाइ छोराहरू मातृका, विश्वेश्वर, केशव, तारणी र गिरिजाप्रसाद हुन् । विराटनगरमा कृष्णप्रसादले कोशी अस्पताल पश्चिम कोइराला परिवारको नाममा दुई बिघाजति जग्गा जोडेका थिए । कोइरालानिवास सगोलमा रहेको परिवारको विस्तारसँगै अंशबन्डापछि टुक्रँदै गयो ।

सबैले १० कट्ठाबराबर अंश भाग पाएका थिए । तारणी र मातृकाका सन्तानले जमिन पहिल्यै बेचेका थिए । बिपी, केशव र गिरिजाको जग्गा एकै ठाउँमा थियो । तर, बिपीपुत्रहरू श्रीहर्ष, प्रकाश र शशांकले पनि आफ्नो भागको जमिन बेचे । गिरिजापुत्री सुजाताले पनि आफ्नो जमिन अलग्गै छुट्याइन् । बाबु केशवको भागमा परेको पुरानो घर छोराहरू निरञ्जन र शेखरले जोगाइरहेका छन् । हाल ऐतिहासिक मानिएको कोइरालानिवास शेखरको व्यक्तिगत सम्पत्तिका रूपमा रहेको छ । 

गिरिजाप्रसाद कोइराला र नोना कोइराला जीवित रहुन्जेल शेखर र सुजाताको भागमा परेको जमिन एकै ठाउँ थियो । तर, गिरिजाप्रसादको मृत्युपछि कोइरालानिवास अलग–अलग भयो । गिरिजापुत्री सुजाताले आफ्नो भागमा परेको अगाडिको जमिनमा अलग्गै घेराबारा गरेर जिपी फाउन्डेसनको घर निर्माण गरेकी छिन् । जहाँ उनले जिपी संग्रहालय खोलेकी छिन् । 

ऐतिहासिक कोइरालानिवास भने शेखरको भागमा परेकाले उनले त्यसलाई बिक्री नगरी संरक्षण गरेर राखिरहे । कांग्रेसी कार्यकर्ता र नेताहरूका लागि कोइरालानिवास तीर्थस्थलझैँ थियो र अझै रहेको छ । जेन–जी आन्दोलनमा कोइरालानिवासको पुरानो काठ, बाँस, माटो र टिनको छानो भएको संरचना आगजनीले पूरै ध्वस्त भएको थियो । आगजनीले ध्वस्त पुरानो घरलाई शेखरले आफ्नै खर्चले पुनर्निर्माण गरेका हुन् ।

सुझावित समाचार