राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू हिजो कसले कति वर्ष शासन गर्यो भनेर दाेषी खोज्ने पक्षमा नरहेकाे बताएका छन्। बल रास्वपाको कोर्टमा आइसकेको उल्लेख गर्दै सभापति लामिछानेले अब को कति वर्ष मन्त्री भयो भनेर खोज्दै हिँड्नुकाे साटाे समस्याको समाधान खोज्नुपर्ने प्रस्ट्याए।
‘हिजो के भयो, कसो भयो त्यो हिजोको कुरा हो। हिजोको परिस्थिति अलग थियो। हिजोको चुनौती अलग थियो। हिजो देशमा राजनीतिक परिवर्तनको आवश्यकता थियो। संविधान निर्माणको चरणमा थियो। अर्कै किसिमको राजनीतिक चुनौती थियो। त्यतिखेरका राजनीतिज्ञहरूले जति सक्नुभयो त्यति गर्नुभयो,’ शनिबार युवा उद्यमीहरूको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने।
सरकारले आफ्नो प्रतिबद्धता र पार्टीको लक्ष्यअनुसार अपेक्षित काम गर्न नसकेको स्वीकार गर्दै उनले भने, ‘चार महिनामै सरकारको मूल्यांकन गर्ने वेला भइसकेको छैन कि भन्ने लाग्छ। तर, अलिकति छनक फेर्न सक्नुपर्थ्याे। तपाईंहरूको सल्लाह र सुझाव मनन गरेका छौँ।’
सभापति लामिछानेले धेरै युवाहरूलाई रोजगारी दिने वाचा पूरा नभएको हुन सक्ने भए पनि हार नमानी ती वाचाहरु पूरा गर्ने प्रतिबद्धता पनि जनाए। ‘सरकारले धेरै मान्छेलाई रोजगारी दिन्छौँ भनेर वाचा गरेको छ। हामीले भनेका भिडियो यत्रतत्र छन्। भनेको समयमा भनेका वाचाहरू पूरा नभएको हुन सक्छ। तर, हामी हार मान्दैनौँ, किनकि हामीलाई त्यो छुट छैन।’