नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शासकीय अराजकता बढाएको आरोप लगाउँदै शक्तिको पृथकीकरणको सिद्धान्तलाई कमजोर नबनाउन सुझाव दिएका छन् ।
आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीले सरकार ‘एक्सप्रेस वे’मा हिँडिरहेको बताए पनि संविधान र कानुनले तोकेको सीमाभित्र रहेर अघि बढ्नुपर्ने बताए ।
उनले सरकारलाई गति बढाउने अधिकार भए पनि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिचको शक्ति सन्तुलनलाई बेवास्ता गर्न नमिल्ने बताए । पटक–पटक गल्ती दोहोरिए त्यसलाई स्वीकार गर्न नसकिने उनको भनाइ थियो ।
‘कार्यपालिकाले आफ्नो सीमा मान्दैन, न्यायपालिकाको सीमा पनि मेरै ठान्छ र संसद् पनि मेरो आदेश पालक हो भन्ने सोच राख्छ भने त्यो शासकीय अराजकता हो,’ थापाले भने ।
उनले सरकारको कार्यशैलीका कारण नागरिकमा निराशा र आक्रोश बढेको दाबी गरे । सरकार सही दिशामा नहुँदा केही नागरिकमा भविष्यप्रति अनिश्चितता देखिएको उनको भनाइ छ ।
सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसदमा सरकारका गलत कामबारे प्रश्न उठाउनु सकारात्मक भएको बताए । सरकारमा सहभागी दलका सांसदले समेत गलत निर्णयको विरोध गर्न सक्ने उल्लेख गर्दै उनले विगतमा कांग्रेस सरकारमा हुँदा पनि गलत कामको विरोध गरिएको स्मरण गरे ।