सरकारी स्वामित्वका पुराना औद्योगिक प्रतिष्ठानमध्ये एक हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको उद्योगले ०३५ सालदेखि परीक्षण उत्पादन सुरु गरी सोही वर्षदेखि व्यावसायिक उत्पादन थालेको थियो ।
उद्योगले सुती धागो, कोरा, रंगीन, बुट्टेदार र सेतो कपडाका साथै नेपाली सेनाका लागि आवश्यक कपडासमेत उत्पादन गर्दै आएको थियो । कुनै समय उद्योगमा करिब एक हजार दुई सय श्रमिकले प्रत्यक्ष रोजगारी पाएका थिए भने दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्ने क्षमता रहेको थियो ।
तर, राजनीतिक हस्तक्षेप, श्रमिक आन्दोलन, हडताल, व्यवस्थापकीय कमजोरी र निरन्तर घाटाका कारण उद्योग कमजोर बन्दै गयो । आर्थिक वर्ष ०५३/५४ मा पहिलोपटक घाटामा गएको उद्योग त्यसपछि निरन्तर घाटामा गएपछि ०५७ माघ १८ गते बन्द गर्ने निर्णय गरिएको थियो ।
बन्द भएको दुई दशकभन्दा बढी समयपछि विभिन्न सरकारले उद्योग पुनः सञ्चालन गर्ने घोषणा गर्दै आएका छन् । सम्भाव्यता अध्ययन, कार्यदल गठन र सञ्चालन मोडालिटीबारे पटक–पटक छलफल भए पनि उद्योग पुनः सञ्चालनमा आउन सकेको थिएन ।
०७३ सालमा उद्योग पुनः सञ्चालनका लागि विस्तृत अध्ययन गर्न समिति गठन गरिएको थियो । ०७५ मा तयार प्रतिवेदनले उद्योग सञ्चालन गर्न सकिने निष्कर्ष निकाल्दै विभिन्न विकल्प अघि सारेको थियो । सोही समयमा उद्योग सञ्चालनका लागि करिब ३० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको थियो ।
०७५ मै नेपाली सेनालाई समेत सहभागी गराएर उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसपछि सार्वजनिक–निजी साझेदारीलगायत विभिन्न मोडालिटीबाट उद्योग सञ्चालन गर्ने प्रस्ताव अघि बढाइएको थियो । आर्थिक वर्ष ०८१/८२ को बजेटमा समेत हेटौँडा कपडा उद्योगलाई सार्वजनिक–निजी साझेदारीमार्फत सञ्चालन गर्ने घोषणा गरिएको थियो ।
पछिल्लो चरणमा भने सरकारले ठुलो लगानी गरेर तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्नुको सट्टा पुराना मेसिन मर्मत गरी परीक्षण उत्पादन सुरु गर्ने रणनीति लिएको छ । परीक्षण उत्पादनको परिणामका आधारमा उद्योगको दीर्घकालीन सञ्चालन योजना बनाउने सरकारको तयारी छ ।