नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कप छनोट प्रतियोगिता खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले पुरुष प्रिमियर लिग आयोजना गर्न लागेको हो । प्रतियोगिताका शीर्ष तीन टोलीले २०२७ एकदिवसीय एसिया कपमा स्थान बनाउनेछन् । एसिया कप बंगलादेशमा आयोजना हुँदै छ ।
३० अगस्टदेखि मलेसियामा सुरु हुने एकदिवसीय प्रतियोगितामा नेपालले समूह चरणमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ चीनसँग खेल्नेछ । अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार छन् । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ । त्यसपछि बहराइन, मलेसिया, हङकङसँग खेल्ने तालिका छ ।
नेपालले सन् २०२३ मा घरेलु मैदानमा आयोजित एसिसी प्रिमियर कपको उपाधि जित्दै पहिलोपटक एसिया कप खेलेको थियो । त्यतिवेला नेपालले टेस्टका महारथी भारत र पाकिस्तान दुवैसँग खेलेको थियो । तर, दुवै खेलमा पराजित भयो । तर, दुई वर्षअघि भने सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपालले पुनः एसिया कप खेल्ने अवसर गुमाएको थियो । अब नेपालसँग फेरि एसिया कपको टिकट सुरक्षित गर्ने अवसर आएको छ । यता, नेपालले २१ अगस्टदेखि अस्ट्रेलियामा टप एन्ड टी २० प्रतियोगिता खेल्दै छ । त्यसपछि फेरि सेप्टेम्बरमा न्युजिल्यान्डको ‘बी’ टिमसँग खेल्ने तालिका छ । एकै समय दुई खेल भएका कारण नेपालले पनि सिनियर टिम र ‘ए’ टिमलाई खेल्न पठाउने सम्भावना रहेको छ ।
हर्मितलाई जनकपुरको कप्तान नियुक्त
दुई सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका अमेरिकी क्रिकेटर हर्मित सिंह नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् । उनलाई जनकपुरले कप्तान जिम्मेवारी दिँदै टिममा भित्र्याएको हो । बायाँहाते स्पिन बलिङ अलराउन्डर हर्मितले एनपिएलका सुरुवाती दुई संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । उनले दुवै संस्करणमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
बोपाराले फेरि चितवनबाट खेल्ने
चितवन राइनोजले इंग्ल्यान्डका ४१ वर्षीय दायाँहाते ब्याटिङ अलराउन्डर रवि बोपारालाई पुनः टोलीमा अनुबन्ध गरेको छ । उनी पहिलो र दोस्रो दुवै सिजनमा चितवनका लागि सर्वाधिक रनकर्ता बनेका थिए । पहिलो सिजनमा आठ खेलमा तीन अर्धशतकसहित २८६ रन बनाउँदै लिगकै दोस्रो सर्वाधिक रनकर्ता बनेका थिए । त्यस्तै, दोस्रो सिजनका सात खेलमा तीन अर्धशतकसहित २३७ रन जोडेका हुन् । निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका बोपाराको पुनरागमनले कुशल मल्ल कप्तानीको चितवनको ब्याटिङ लाइनअपलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
एनपिएल ९ कात्तिकबाट
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण ९ कात्तिकदेखि ५ मंसिरसम्म हुने भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार तेस्रो संस्करणको मिति टुंगो लगाएको हो । यद्यपि, यसअघि नै मिनी अक्सनदेखि सहभागी टिमले खेलाडी रिटेन र रिलिज गरिसकेका थिए । त्यस्तै, धमाधम विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन् ।