२८ साउनमा देउवा काठमाडौं फर्कँदै

अर्को दिन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

गत फागुनमा उपचारका लागि विदेश गएका थिए देउवा

कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पूर्वनिर्धातिर कार्यतालिकाभन्दा दुई दिन ढिला गरी २८ साउनमा स्वदेश फर्कने भएका छन् । यसअघि २६ साउनमा स्वदेश फर्कने भनिए पनि समय परिवर्तन गरिएको उनीनिकटस्थ नेताहरूले बताएका छन् । हाल उनी हङकङमा छन् ।

नेता–कार्यकर्ताको मागअनुसार देउवाको स्वदेश फर्कने समय परिवर्तन गरिएको कांग्रेस नेता प्रकाशशरण महतले बताए । उनका अनुसार देउवा २६ साउनको राति फर्कने तयारीमा थिए । तर, दिउँसो नै उनलाई स्वागत गर्न पाउनुपर्ने नेता–कार्यकर्ताको आग्रह आएपछि उडान समय परिवर्तन गरिएको छ । 

‘२६ गते राति हुने भयो । दिउँसो नै उहाँलाई स्वागत गर्न पाउनुपर्छ भन्ने नेता तथा कार्यकर्ताको मागअनुसार नै उहाँको स्वदेश फर्कने समय परिवर्तन भएको हो,’ महतले भने, ‘अब उहाँ २८ गते दिउँसो १२:२५ बजे काठमाडौं उत्रनुहुनेछ ।’

देउवा फर्किने भएपछि कांग्रेसले उनको स्वागतका लागि कार्यक्रमसमेत तय गरेको छ । ‘उहाँको स्वागतका लागि हामी विमानस्थल पुग्छौँ । नेता–कार्यकर्ताले उहाँलाई विमानस्थलमै भव्य स्वागत गर्ने कार्यक्रम छ,’ महतले भने । 

देउवा पक्षले सामाजिक सञ्जालमार्फत ‘श्रद्धेय नेता शेरबहादुर देउवालाई स्वागत गरौँ’ भन्ने ब्यानरसहित स्वागतको प्रचारप्रसारसमेत थालेको छ । नेता तथा कार्यकर्तालाई २८ साउनको बिहान साढे ११ बजे विमानस्थलमा उपस्थित हुन आह्वान गरिएको छ ।

स्वदेश फर्किएको भोलिपल्टै देउवा आफूनिकट राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुनेछन् । भेलालाई देउवाले सम्बोधन गर्ने भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले बताइसकेका छन् । उपचारका लागि देउवा गत फागुनमा विदेश गएका थिए । ६ महिनापछि उनी स्वदेश फर्किन लागेका हुन् ।

सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको आधिकारिकता विवादमा पुनरवलोकनको अनुमति दिएको भोलिपल्ट संस्थापन र इतर दुवै पक्षले पूर्वनिर्धारित आ–आफ्ना कार्यक्रम नरोक्ने घोषणा गरेका छन् । संस्थापन पक्ष (गगन थापा)ले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकताको कानुनी प्रतिरक्षा गर्दै तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जनाएको छ भने इतर पक्ष (शेरबहादुर देउवा)ले २९ देखि ३१ साउनसम्म हुने राष्ट्रिय भेला नरोक्ने बताएको छ ।
 

See More On

सुझावित समाचार