खाना पकाउने ग्यासमा बिक्रेताको थप शुल्क, कारबाहीको चेतावनीपछि स्थगित

शनिबार, २३ साउन, २०८३
डिजिटल संस्करण

खाना पकाउने ग्यासमा नेपाल आयल निगमले तोकेको मूल्यमा थप २० रुपैयाँ सेवा शुल्क लिने ग्यास बिक्रेता संघले गरेको निर्णय स्थानीय प्रशासनले कारबाही गर्ने चेतावनी दिएपछि स्थगित भएको छ । 

सिराहा जिल्ला ग्यास बिक्रेता संघ सिराहाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गत १७ असारदेखि कायम गरिएको १४.२ केजी सिलिन्डरको बिक्री मूल्य दुई हजार ६० रुपैयाँ (मूल्य अभिवृद्धि करसहित) मा थप २० रुपैयाँ सेवा शुल्क लिएर दुई हजार ८० रुपैयाँमा बेच्न संघमा आबद्ध व्यवसायीहरूलाई निर्देशन जारी गरेको थियो ।

संघले नै निर्देशन दिएपछि व्यवसायीहरूले पेट्रोलियम पदार्थको आयात र बिक्री/वितरण गर्दै आइरहेको निगमले तोकेको मूल्यमा सेवा शुल्कको नाममा थप २० रुपैयाँ मूल्य थपेर बिक्री गर्दै आएको उपभोक्ताहरूको गुनासो छ ।  

सरकारी दरभन्दा बढी मूल्यमा नबेच्न जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयले तोकेता गरिरहेका बेला उल्टै थप २० रुपैयाँ सेवा शुल्क लिएर ग्याँस बिक्री गर्न विज्ञप्तिमार्फत संघले निर्देशन दिएको भोलिपल्ट शनिबार पुनः अर्को विज्ञप्तिमार्फत उक्त निर्णय अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएको छ ।

जिल्ला र इलाका प्रशासनले निगमले तोकेको मूल्यभन्दा बढीमा बिक्री गर्न नपाइने भनिरहेका बेला संघले सेवा शुल्क २० रुपैयाँ लिन पाउने गरी जारी गरेको विज्ञप्तिको लहान नगरपालिका, इलाका प्रशासन कार्यालय, जिल्ला उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ र उपभोक्ता मञ्चलाई बोधार्थ पठाएको थियो । 

संघका जिल्ला अध्यक्ष श्यामनारायण सिंहको हस्ताक्षर रहेको पघिल्लो विज्ञप्तिमा निगमबाट तोकिएको दररेटभन्दा बढी रकम वा सेवा शुल्क नलिई ग्यास बिक्री गर्न आग्रह गरिएको छ ।

निगमले निर्णय गरेको १७ असारदेखि २२ साउनसम्म ग्यास बिक्रेताहरूले उपभोक्ताहरूबाट सेवा शुल्कको नाममा असुल गरेको रकम फिर्ता वा के हुन्छ भन्ने विषयमा अध्यक्ष सिंह र महासचिव रामप्रसाद साहसँग फोनमा पटक-पटक कुराकानी गर्ने प्रयास गरिए पनि सम्पर्कमा आउन चाहेनन् । 

‘थप रकम लिएको पुष्टि भए कारबाही’

ग्यास बिक्रेताहरूले तोेकिएको मूल्यभन्दा बढी रकम लिएको सम्बन्धमा केही उपभोक्ताको गुनासो रहेको भन्ने आफूले पनि सुनेको जानकारी दिँदै सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले २० रुपैयाँ बढी लिएको कोही उपभोक्ताले प्रमाणसहित आए सम्बन्धित बिक्रेतालाई कारबाही गरिने बताए । ‘त्यही विषयमा बुझ्न शनिबार जिल्ला र इलाका प्रशासनको अनुगमन टोली खटाइएको छ,’ उनले भने, ‘सिराहाको कर्जन्हा, मिर्चैया, धनगढीमाईलगायतका क्षेत्रमा अनुगमन गरिएको छ ।’ 

लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले २१ साउनमा सूचना जारी गर्दै बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षण समितिको बैठकपछि नगर क्षेत्रका ग्यास बिक्रेता डिलरहरूलाई उपभोक्ताहरूबाट अतिरिक्त रूपमा लिइएको रकम सात दिनभित्र फिर्ता गर्न आग्रह गरेका थिए ।

सूचनामा उपभोक्ताहरूले आफूले ग्यास खरिद गरेको सम्बन्धित डिलरमा गएर आफूले तिरेको बढी रकम फिर्ता लिन आग्रह गरिएको छ । 

गत १६ असारको मध्यरातदेखि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय रुपैयाँ घटाएर १४.२ केजीको ग्यास सिलिन्डरको दुई हजार ६० र ७.१ केजीको सानो सिलिन्डरको मूल्य ५० रुपैयाँ घटाएर एक हजार ३० रुपैयाँ कायम गरेको थियो । 

सुझावित समाचार