सिराहाबाट पुनः ९१ किलोभन्दा बढी गाँजाजस्तो पदार्थ बरामद, एकजना पक्राउ

शनिबार, २३ साउन, २०८३
डिजिटल संस्करण

सिराहाको पूर्व दक्षिणी भेगमा पर्ने सखुवानन्कारकट्टी गाउँपालिका- ४, सिमराहा गाउँनजिकै बलान खोला क्षेत्रबाट प्रहरीले पुनः प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थ बरामद भएपछि प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय लहान र महेशबारीबाट खटिएको संयुक्त गस्ती टोलीले शुक्रबार बिहान पाँचवटा बोरामा प्याक गरिएको ९१ किलो २५ ग्राम प्रतिबन्धित गाँजाजस्तो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

महेशबारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले बिहीबार राति पनि बोरामा प्याक गरिएको ५३ किलो ४६५ ग्राम प्रतिबन्धित गाँजाजस्तो पदार्थ बरामद गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार गाँजा बरामदसँगै छिमेकी भगवानपुर गाउँपालिका- ४, जमुवा गाउँका करिब ४३ वर्षीय मोहन साहलाई पक्राउ गरिएको छ। पाँचजनाले कपडाको नाम्लोमा गाँजाजस्तो देखिने पदार्थ प्याक गरिएको बोरा बोकेका पाँचजनामध्ये साहबाहेक अन्य फरार भएकाले खोजी भइरहेको उनले बताए। 
प्रहरीका अनुसार बरामद गरिएको गाँजाजस्तो पदार्थसहित साहलाई लहान प्रहरीमा ल्याएर थप अनुसन्धान भइरहेको छ। गाँजा बरामद भएको क्षेत्र भारतीय सीमावर्ती बजार लौकाहा नजिकै पर्ने भएकाले बलान खोला हुँदै तस्करहरुले प्रतिबन्धित गाँजा भरियामार्फत भारतीय क्षेत्रमा पुर्याउन प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ।

सुझावित समाचार