पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हरेन्द्र यादवलाई प्रहरी दाउन्नेबाट पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय दुम्किबासको सहयोगमा बर्दघाट प्रहरीले नवलपुर जिल्लाको दाउन्ने क्षेत्रबाट पक्राउ गरेको हो।
उनीविरुद्ध प्रहरीमा किर्ते र ठगीको जाहेरी परेको छ। नवलपरासी जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले अनुसन्धान अगाडि बढाउन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी मदन थापाले बताए ।
यादवले आफूलाई पक्राउ नगर्नका लागि उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट अल्पकालीन अन्तरिम आदेश लिएको भए पनि शुक्रबार उच्च अदालत बुटवल इजलासले अल्पकालीन आदेशलाई निरन्तरता दिनु आवश्यक नदेखिएको आदेश जारी गरेपछि निजलाई पक्राउ गर्ने बाटो खुलेको थियो।
यादवलाई इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए।