आर्थिक, व्यापारिक सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्छ : परराष्ट्रमन्त्री खनाल

शनिबार, २३ साउन, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाबिच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । शुक्रबार नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट र चीनको फुदान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रद्वारा आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया : विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा उनले भारत र चीनसँग नेपालको सम्बन्ध सुदृढ हुँदै गएको पनि उल्लेख गरेका छन् । सम्मेलनमा नेपाल, भारत र चीनका विज्ञ सहभागी छन् । 

परराष्ट्रमन्त्री खनालले नेपाललाई भूपरिवेष्टित देशबाट चीन र दक्षिण एसियालाई जोड्ने जीवन्त र गतिशील पुलमा रूपान्तरण गर्नु सरकारको आकांक्षा रहेको बताए । एसियाको रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसर सिर्जना गरेको उनले बताए । ‘सहकार्य नै दिगो विकास र दीर्घकालीन समृद्धिको सुनिश्चित मार्ग हो,’ उनले भने ।

छिमेकी चीन र भारतको निरन्तर आर्थिक उन्नतिले नेपालसहित छिमेकी मुलुकलाई व्यापार विस्तार, लगानी आकर्षण, पूर्वाधार तथा कनेक्टिभिटी विकास, पर्यटन प्रवद्र्धन र आर्थिक सहकार्य विस्तारका नयाँ अवसर प्रदान गरेको पनि परराष्ट्रमन्त्री खनालको भनाइ थियो । 

नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको स्पष्ट पार्दै उनले भने, ‘हाम्रो परराष्ट्र नीति जनताको जीवनस्तर सुधारसँग जोडिएको छ । व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु नै यसको मूल उद्देश्य हो ।’ सम्मेलनमा नेपाल, चीन र भारतका करिब ३० जना वक्ता, शिक्षाविद्, कूटनीतिज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता तथा रणनीतिक मामिलाका विज्ञ सहभागी छन् । 

सुझावित समाचार