करदाता प्रोत्साहन उपहार विजेतालाई अर्थमन्त्रीको बधाई

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुईजना उपभोक्तालाई बधाई दिएका छन्। सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा शुक्रबार सार्वजनिक गरिएको हाे।

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना एक–एक लाख रुपैयाँका विजेता र एकजना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका थिए।

साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा कारोबार गरी विभागको प्रणालीमा बिल पेस गरेका उपभोक्ता यस कार्यक्रममा सहभागी थिए। जसमध्ये १५ दिनको बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ विजेता बनेका कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशीलाई फोन सम्पर्क गरेर अर्थमन्त्री डा. वाग्लेले बधाई दिएका हुन्। जोशीले शिवकृष्ण जनरल स्टोर्सबाट सामान खरिद गरेका थिए।

‘हेमराजजी, बधाई छ। म संघीय सरकारको अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बोलेको,’ उनले भने, ‘ल, तपाईंलाई बधाई छ। बिल लिने र बिल दिने बानी बसाल्न सरकारले सुरु गरेको प्रोत्साहन कार्यक्रममा तपाईंले बम्पर उपहारस्वरूप १० लाख जित्नुभयो। तपाईंलाई कर कार्यालयका साथीहरूले सम्पर्क गर्नुहुन्छ है।’

अर्थमन्त्रीको बधाई फोनपछि अकमक्क भएका जोशीले अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गरे। जोशीले गत साउन ७ गते २५० रुपैयाँ पर्ने सामान अनलाइन बैंकिङमार्फत क्युआर स्क्यान गरी खरिद गर्दा १० लाख रुपैयाँ जितेका हुन्।

यसैगरी, अर्थमन्त्री वाग्लेले एक लाख रुपैयाँ विजेता रुपन्देहीकी सपना खरेललाई पनि बधाई दिएका छन्। खरेलले साउन ९ गते देवदह नगरपालिका मिलनचोकमा रहेको शुभसिद्धि सप्लायर्सबाट नाै सय रुपैयाँको तरकारी किनेकी थिइन्। 

अर्थमन्त्री वाग्लेले उनलाई आफूले किनेको सामानको बिल सुरक्षित राख्न आग्रह गरे। अर्थमन्त्रीले जोशी र खरेल दुवैलाई अर्थ मन्त्रालयमातहतको आन्तरिक राजस्व विभागले सम्पर्क गरेर पुरस्कार जितेकोबारे विस्तृत जानकारी दिने बताए।

सो क्रममा उनले अन्य विजेतालाई पनि फोन सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क स्थापित हुन नसकेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

सुझावित समाचार