श्रीलंकाका अलराउन्डर धनञ्जय पोखरामा पुनः अनुबन्ध

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

पोखरा एभेन्जर्सले श्रीलंकाका अनुभवी अलराउन्डर पोथोतुवा अरच्चिगे धनञ्जय लक्षणलाई आफ्नो टोलीमा पुनः अनुबन्ध गरेको छ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टोलीलाई मजबुत बनाउने उद्देश्यसहित विदेशी खेलाडी भित्र्याउने क्रममा पोखराले धनञ्जयलाई टोलीमा अनुबन्ध गरेको हो।

पोखराले अनुबन्ध गरेका उनी तेस्रो विदेशी खेलाडी हुन्। यसअघि पोखराले टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर अजन्था विन्स्लो मेन्डिस बलापुवाडुगेलाई नियुक्त गरिसकेको छ। बंगलादेशका विश्वप्रसिद्ध क्रिकेटर शाकिब अल हसनलाई टोलीले आबद्ध गरिसकेको छ।

दोस्रो संस्करणमा समेत पोखराको टोलीमा रहेका २७ वर्षका धनञ्जयलाई यसअघिको प्रदर्शनका आधारमा टोलीमा पुनः अनुबन्ध गरेको पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले बताए। दोस्रो संस्करणमा उनले ब्याट र बल दुवैबाट प्रभाव पार्दै पोखराका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

बायाँहाते ब्याट्सम्यान तथा दायाँहाते मिडियम फास्ट बलर लक्षणले श्रीलंकाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। उनले श्रीलंकाका लागि तीन ओडिआई खेलेका छन्। ७० टी–२० आईमा ४८ विकेट लिएका उनी घरेलु तथा विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरूमा निरन्तर उत्कृष्ट फर्ममा छन्।
 

सुझावित समाचार