रौतहटको यमुनामाई गाउँपालिका– ५ मा ६ वर्षीय बालक नहरमा मृत फेला परेका छन्। बिहीबार दिउँसो ३ः३० बजेतिर खेल्न गएका स्थानीय सरमुला मियाँका छोरा खुसी आलम शुक्रबार बिहान ९ः५५ बजेतिर मृत भेटिएका हुन्।
खुसी बिहीबार साथीहरूसँग खेल्न घरदेखि करिब एक किलोमिटर पश्चिम सडकछेउको कल्भर्टतर्फ गएका थिए। अन्य साथीहरू घर फर्किए पनि उनी घर नफर्किएपछि परिवारले आफन्त तथा छरछिमेकमा खोजी गरे।
बालक नभेटिएपछि उनका बुबाले बिहीबार साँझ करिब ७ः३० बजे प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि अस्थायी प्रहरी पोस्ट बमनहरबाट प्रहरी सहायक निरीक्षक सञ्जीव सिंहको कमान्डमा टोली परिचालन गरी खोजी थालिएको थियो।
प्रहरीका अनुसार शुक्रबार बिहान यमुनामाई गाउँपालिका– ५ स्थित सातबम्बा सडकको कल्भर्टबाट करिब २० फिट दक्षिणतर्फ बगेको नहरको पानीमा बालक मृत अवस्थामा फेला परेका हुन्।