लाइभस्ट्रिमका क्रममा मेक्सिकोका चर्चित टिकटकरको हत्या

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

मेक्सिकोको उत्तरी सहर कुलियाकननजिकै मोटरसाइकलमा आएका मानिसले एकजना लोकप्रिय टिकटकर ग्यास्टेलमलाई गोली हानी हत्या गरेका छन् । आक्रमण गरिँदा ग्यास्टेलम आफ्ना फलोअर्ससँग लाइभस्ट्रिम गरिरहेका थिए । हत्यामा मेक्सिकोमा सक्रिय कुनै ड्रग्स कार्टेलको हात हुन सक्ने आशंका गरिएको छ । पछिल्लो समय कुलियाकन सहरको नियन्त्रणका लागि प्रतिद्वन्द्वी कार्टेलबिच संघर्ष चलिरहेकाले सहर हिंसाको केन्द्रबिन्दु बनेको छ । 

मेक्सिकन मिडियाका अनुसार सेप्टेम्बर २०२४ यता कुलियाकन सहरमा कम्तीमा १२ सामाजिक सञ्जाल इन्फ्लुएन्सरको हत्या भएको छ । यसअघि गत वर्ष मे २०२५ मा पश्चिमी राज्य जालिस्कोमा ‘ब्युटी इन्फ्लुयन्सर’ भलेरिया मार्केजको हत्याले पूरै देश तरंगित भएको थियो । २४ वर्षीय ग्यास्टेलम टिकटकमा हास्यप्रधान कन्टेन्ट राख्थे र उनले प्रायः जीवनशैलीसम्बन्धी सामग्रीको प्रचार गरिरहेका हुन्थे । ग्यास्टेलमको टिकटकमा सात लाखभन्दा बढी फलोअर देखिन्छन् । उनीमाथि स्थानीय अभियोजक कार्यालयनजिकै आक्रमण भएको थियो । लाइभस्ट्रिमका क्रममा ग्यास्टेलमसँगै दुई साथी पनि रहेको तर उनीहरू भने सुरक्षित नै रहेको स्थानीय मिडियाले जनाएका छन् ।

घटना सम्बन्धमा अहिलेसम्म अधिकारीहरूले कुनै पनि गिरफ्तारी गरेका छैनन् भने हत्यापछाडि कुनै उद्देश्य पनि खुलाएका छैनन् । आक्रमणबारे प्रतिक्रिया दिने क्रममा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले बुधबार पत्रकारसँग बोल्दै 
सुरक्षा अधिकारीले घटनाको अनुसन्धान गरिरहेको बताइन् । 

मेक्सिकोको संघीय सुरक्षा मन्त्रिपरिषद्ले बुधबार सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै ग्यास्टेलमका विभिन्न सामाजिक सञ्जाल पोस्टको विश्लेषण गरिरहेको बताएको छ । यीमध्ये केही पोस्टले कार्टेल समूहको एउटा गुटबारे उल्लेख गरेको पाइएको बताइएको छ, तथापि त्यो कुन गुट हो वा कुन कार्टेल समूह भनेर खुलाइएको छैन । 

मिडिया रिपोर्टअनुसार ग्यास्टेलमको सामाजिक सञ्जाल पोस्टमध्ये एउटामा उनी डिसेम्बर २०२४ मा गोली हानी मारिएका एक प्रभावशाली कार्टेल नेता लिओबार्डो ऐस्पुरो वा ‘एल गोर्डो पेरुसी’को चिहानमा भिडियो बनाइरहेका देख्न सकिन्छ । एल गोर्डो पेरुसीको हत्या ‘सिनालोआ कार्टेल’भित्रका गुटगत हिंसाका कारण भएको हुन सक्ने प्रहरीले अनुसन्धानले देखाएको थियो । जुलाई २०२४ मा सिनालोआका सह–संस्थापक इस्माइल ‘एल मेयो’ जाम्बाडाको गिरफ्तारीपछि सिनालोआ कार्टेलका प्रतिद्वन्द्वी गुटबिच गम्भीर आन्तरिक युद्ध भड्किरहेको छ । यसले धेरैको ज्यान लिइसक्यो । 

सुझावित समाचार