किसान र प्राविधिकलाई जलवायुमैत्री तथा वन्यजन्तु प्रतिरोधी बालीसम्बन्धी तालिम

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

बर्दियामा अगुवा किसान तथा प्राविधिकलाई चारदिने जलवायुमैत्री तथा वन्यजन्तु प्रतिरोधी बालीसम्बन्धी तालिम दिइएको छ। ठाकुरबाबा नगरपालिका– ९ मा बाँके र बर्दियाका अगुवा किसान तथा प्राविधिकलाई चारदिने जलवायुमैत्री तथा वन्यजन्तु प्रतिरोधी बालीसम्बन्धी तालिम दिइएको हो।

तालिमका सहजकर्ता नाथुराम थारूले रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगका कारण मौरी, भमरालगायत परागसेचनमा महत्वपूर्ण भूमिका खेल्ने जीवहरू संकटमा पर्दै गएको बताए। ‘रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न सके प्रकृतिमा पाइने किसानको मित्र जीव संरक्षण हुनुका हुन्छ। त्यसले कृषि उत्पादन बढाउन समेत महत्वपूर्ण योगदान पुर्याउँछ,’ उनले भने, ‘खेती गर्दा वन्यजन्तुले खाइदिने खालको बाली लगाउनु भएन। त्यसका लागि कस्ता बाली लगाउँदा वन्यजन्तुबाट जोगाउन सकिन्छ। त्यो ख्याल गर्नुपर्छ।’

गाउँघरमा पाइने झारपातबाट कम्पोस्ट मल तयार गर्न सकिने तथा निम, बकाइनो र तितेपातीबाट जैविक कीटनाशक झोल बनाएर तरकारीमा प्रयोग गर्न सकिने उनले  जानकारी दिए।

तालिममा सहभागी ठाकुरबाबा नगरपालिका– ९ बेतहनीका रामु थारूले जैविक मलको प्रयोग गर्न सके प्रकृतिमा पाइने  किसानका मित्र जीवको संरक्षण हुने र उत्पादन बढ्ने हुँदो जैविक मल बनाएर प्रयोग गर्ने बताए। उनले भने, ‘ रासायनिक मल र विषादीको प्रयोग गर्दा जमिन पानी र हावा दुषित हुन्छ। जसले गर्दा प्रकृतिमा सबैलाई असर गर्ने भएकोले पनि जैविक मलमा प्रयोग गर्न खोजेको हुँ।’

त्यसैगरी तालिममा सहभागी कलकुमारी थारूले रासायनिक मलभन्दा जैविक मल उत्पादन गर्न केही असहज भएता पनि यसले मानव स्वास्थ्यमा नकारात्मक असर नपर्ने बताइन्। उनले भनिन्, ‘तालिममा सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्ने छु।’

कृषि तथा उद्यम विकास संयोजक पप्पु यादवले विशेष गरी तालिमका जैविक मलको उत्पादन र प्रयोग कसरी गर्ने, जलवायु परिवर्तन र विषादीको बढ्दो प्रयोगले जनजीवनमा कस्तो असर पारेको छ, त्यसबारेका कृषक र प्राविधिकलाई तालिम दिइएको बताए। उनले भने, ‘तालिममा सहभागीहरूलाई कम्पोस्ट मल तथा झोल मल बनाउने तरिका, नर्सरी व्यवस्थापन, वन्यजन्तुले नखाने जलवायु अनुकुलका कृषि बालीबारे सिकाइएको छ।’

संवर्द्धन परियोजना फेकोफनका फिल्ड सहर्जकता लोकराज परियारले तालिममा सिकेको ज्ञान र सीप जीवन उपयोगी रहेको बताए। उनले भने, ‘पछिल्लो समय विषादी नभएको तरकारी खान खोज्ने उपभोक्ताहरू पनि बढीरहेका छन्। उपभोक्ताहरूलाई विषादी नभएको तरकारी हो भनेर बुझाउन सके कृषि उत्पादनले राम्रो मूल्य पाउँछ।’

सुझावित समाचार