कैलालीको मोहन्याल गाउँपालिका– ७, कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई यात्रुवाहक बस एक–आपसमा ठोक्किँदा सात यात्रु घाइते भएका छन्।
लम्कीबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सोल्टाबाट चिसापानीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१६८ नम्बरको बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सातजना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि लम्कीतर्फ पठाइएको प्रहरीले जनाएको छ। बसमा सवार अन्य २७ जना सकुशल रहेका छन्।
दुर्घटनामा दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको भए पनि दुवै सवारीसाधन चल्ने अवस्थामा छन्। सडकमा सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको छ। दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।