- एरिका गुरुङ महिलातर्फ र दीपेन्द्रसिंह ऐरी पुरुषतर्फ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन्
कराँतेकी एरिका गुरुङ महिलातर्फ र टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी पुरुषतर्फ वर्षका उत्कृष्ट खेलाडी (२०८२/०८३) घोषित भएका छन् । हाम्रो खेलकुदडटकमको ११औँ वार्षिकोत्सवका अवसरमा मंगलबार एरिका र दीपेन्द्रलाई वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रका तर्फबाट राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले अवार्ड ग्रहण गरेकी थिइन् । उत्कृष्ट खेलाडीहरूले अवार्डसहित २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । सन् २०२२ को सेप्टेम्बरमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइला टेकेकी एरिकाले चार वर्षको छोटो अवधिमै नेपाली कराँतेमा असाधारण प्रदर्शन गरेकी छिन् ।
एरिकाले अहिलेसम्म १८ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट २१ पदक जितेकी छिन् । उनले १३ स्वर्ण, ६ रजत र दुई कांस्य पदक जितेकी छिन् । वर्तमान समयमा एरिका नेपाली कराँतेकै सर्वाधिक सफल खेलाडी हुन् । उनले पहिलोपटक २०औँ सिनियर एकेएफ कराँते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । यसैगरी, पहिलो सहभागीमै उनले तीन वर्षअघि चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।
गत वर्ष एरिकाले मलेसियामा भएको डब्लुकेएफ कराँते वान सिरिजमा स्वर्ण पदक जितिन् । त्यसपछि विश्व कराँते च्याम्पियनसिपका लागि छनोट हुँदै उनले अर्को ऐतिहासिक उपलब्धि हात पारिन् । उनले नेपाललाई टर्की र चीनमा भएको डब्लुकेएफ कराँते वान प्रिमियर लिगमा रजत पदक दिलाएकी थिइन् । उनी यो पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
एरिकाले २२औँ एकेएफ एसियन सिनियर कराँते च्याम्पियनसिपको कांस्य पदक र बंगलादेशमा सम्पन्न १०औँ एसएकेएफ दक्षिण एसियाली कराँते च्याम्पियनसिपका दुई स्वर्ण पदक हात पारेकी थिइन् । यसैबिच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव रवीन्द्र चन्द, पारालम्पिक्सकी कांस्य पदक विजेता पलेशा गोवर्धन, सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले नेपाली खेलकुदमा पूर्वाधार विषयमा आ–आफ्नो विचार राखेका छन् ।
खेलकुदको व्यवसायीकरणमा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, ललितपुर सिटी एफसी प्रबन्ध निर्देशक आलोकजंग जोशी, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आ–आफ्नो धारणा राखेका थिए ।